
बारा- ललाई फकाई विभिन्न प्रलोभन देखाएर बाराकी एक चेलीलाई भारतको राजधानी दिल्ली स्थित वेश्यालय पुर्याउन खोजेका एक जना युवक भारतीय सीमा सुरक्षा बल एसएसबीको फन्दामा परेका छन्।
रौतहटसँग सिमाना जोडिएको भारत विहार मोतीहारी जिल्ला झरौखर थाना क्षेत्र अन्तर्गत जमुनिया स्थित एसएसबी क्याम्पको टोलीले गएराती उनीहरूलाई पक्राउ गरेको हो।
नेपालबाट एकजना युवकले मानव तस्करीको उद्देश्यले एक युवती लिएर आउँदै गरेको सूचनाको आधारमा नेपाल भारत सीमाक्षेत्र पिल्लर संख्या 3556/2 नजिकै मोटरसाइकलमा जाँदै गरेको अवस्थामा युवा युवतीलाई पक्राउ गरेको एसएसबीले जनाएको छ। पक्राउ पर्नेमा बारा जिल्ला सिम्रौनगढ नगरपालिका १० देवापुर टेन्टा घर भएका नागेश्वर साहको छोरा अन्दाजी वर्ष २५को सुरज गुप्ता रहेको एसएसबी क्याम्प जमुनियाका कम्पनी कमाण्डर राजनन्दन कुमारले बताएका छन्।
सिम्रौनगढ नगरपालिका अमृतगन्ज घर भएकी पासवान थरकी २० वर्षिया विवाहित युवतीलाई भगाइ लागिरहेका गुप्ताले पटक पटक बयान फेरी रहेका थिए। उनलाई कडाइका साथ सोध बुझ गर्दा पासवान युवतीलाई दिल्लीस्थित उसको सानीआमाले सञ्चालन गरेको यौन व्यवसायमा लगाउने उद्देश्यले लगिरहेको स्विकारेको एसएसबी कमान्डर कुमारले बताएका छन्।
विआर ०१ विए ३४२१नम्बरको उक्त मोटरसाइकल आफन्तको घरमा राखेर घोडासहनबाट ट्रेन चढेर युवतीलाई लिएर दिल्ली जाने उनीहरूको योजना रहेको कमान्डर कुमारले जानकारी दिएका छन्। उनीहरूको साथबाट एकथान मोटरसाइकल, केटीको ब्यागबाट ५० हजार नेपाली रुपैयाँ र केटाको पाकेटबाट १२ हजार नेपाली रुपैयाँ बरामद भएको उनले जानकारी दिएका छन्। एसएसबी क्याम्पमा पुगेर पक्राउ परेकी केटीको बुवाले लाखौं खर्च गरेर यसै वर्ष बिहे गरेको छोरीलाई गुप्ताले ललाई फकाई दिल्ली लागिरहेको बताएको थियो उनले मानव तस्करी गरिरहेका गुप्तालाई हदै सम्मको कारबाही हुनुपर्ने माग गरेका छन्।
पक्राउ परेका युवा युवतीलाई बरामद सामान सहित आवश्यक कारबाहीको लागि राति नै रौतहट स्थित प्रहरी चौकी बंकुलमा एक गैरसरकारी संस्थाका प्रतिनिधिको रोहवरमा बुझाएको एसएसबी क्याम्प जमुनियाले जनाएको छ। पछिल्लो समय रौतहट र बाराको विभिन्न गाउँबाट नेपाली चेलीलाई भारत पुर्याउने घटना बढिरहेकाले सीमा क्षेत्रमा कार्यरत नेपाली सुरक्षाकर्मीहरूले विशेष निगरानी गर्नुपर्ने एसएसबीले सुझाव दिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपक कुमार रायले घटनाको पुष्टि गरेका छन्। पक्राउ परेका आरोपी युवा र युवतीको घर बारा जिल्लामा भएकाले थप अनुसन्धान तथा कारबाहीको लागि दुवै जनालाई बारा प्रहरीको जिम्मा लगाइएको प्रवक्ता तथा डिएसपी रायले जानकारी दिएका छन्।