काठमाडौं - स्रोत नखुलेको ३१ लाख रुपैयाँ नगदसहित एक चिनियाँ नागरिक काठमाडौंमा पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौं महानगरपालिका–१५, चौमतीमा घर भाडामा लिएर बस्दै आएका ५२ वर्षीय मा यागुबी (MA YAGUBI) लाई भदौ ८ गते पक्राउ गरेको हो।
लागूऔषध कारोबार गर्ने गरेको विशेष सूचनाका आधारमा खानतलासी गर्दा उनको कोठाबाट लागूऔषध नभेटिए पनि ३१ लाख रुपैयाँ नगदसहित विभिन्न सामग्री बरामद भएको ब्यूरोले जनाएको छ।
प्रहरीले उनको साथबाट पासपोर्ट, सुन काट्ने कैँची, ह्याम्मर, डिजिटल तराजु, क्याल्कुलेटर, विभिन्न कम्पनीका चारवटा मोबाइल तथा एनआईएमबी बैंकका दुई र एनआईसी एसिया बैंकको एक थान चेकबुक बरामद गरेको छ।
पक्राउ परेका यागुबीलाई थप अनुसन्धानका लागि प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ। प्रहरीका अनुसार उनी यसअघि छ पटक नेपाल आएर फर्किसकेका थिए भने पछिल्लो पटक सन् २०२६ जुलाई २३ मा नेपाल आएको अभिलेखमा देखिएको छ।

