काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई गालीगलौज तथा हातपात गरेको आरोपमा काठमाडौंमा एक युवक पक्राउ परेका छन्।
प्रहरीका अनुसार भदौ ९ गते बिहान करिब ९ः३० बजे काठमाडौं महानगरपालिका–१० बानेश्वरबाट थापागाउँ जाने सडकखण्डस्थित आकाशे पुलमुनि पिक आवर ड्युटीमा खटिएका प्रहरीले पैदलयात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए।
तर, आग्रह नमानी प्रहरी कर्मचारीलाई नै गालीगलौज तथा हातपात गरेको आरोपमा जुम्ला तातोपानी गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–३१ बस्ने २७ वर्षीय राज कठायतलाई नियन्त्रणमा लिइएको हो।
कठायतविरुद्ध राष्ट्रसेवकलाई बाधा–विरोध तथा अभद्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप गरी प्रहरी वृत्त नयाँ बानेश्वरले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

