सिन्धुपाल्चोक - इन्द्रावती गाउँपालिकामा सञ्चालित बृहत् खानेपानी आयोजना प्रभावकारी रूपमा अघि बढ्न नसक्नुका कारण, हालसम्मको प्रगति तथा आगामी कार्यदिशाबारे छलफलसहित आयोजनाको स्थलगत अनुगमन तथा निरीक्षण गरिएको छ।
इन्द्रावती गाउँपालिका कार्यालयमा आयोजना प्रभावकारी बन्न नसक्नुका कारण, निर्माणको अवस्था, देखिएका समस्या तथा समाधानका उपायबारे सम्बन्धित पक्षबीच छलफल गरिएको थियो। छलफलपछि टोलीले आयोजनाको खानेपानी मुहान तथा निर्माणस्थलको स्थलगत अवलोकन गर्दै आयोजनाको वास्तविक अवस्था तथा समस्याबारे जानकारी लिएको हो।
अनुगमनमा पूर्वाधार मन्त्रालयका सचिवहरू, खानेपानी विभागका कर्मचारीहरू, सांसद प्रमिला कुलु, निर्माण व्यवसायी/ठेकेदार टोली तथा स्थानीयस्तरमा सक्रिय विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो।
त्यसैगरी, पूर्वाधार मन्त्री सुनिल लम्सालका प्रमुख सल्लाहकार सञ्जीव विक्रम राणा, निजी सचिव राजेन्द्रबहादुर बम, सिन्धुपाल्चोक क्षेत्र नं. २ मा खटिएकी सांसद प्रमिला कुलु तथा सचिवालय प्रमुख सुरेश मास्के लगायतको उपस्थितिमा खानेपानीको मुहान तथा आयोजनासँग सम्बन्धित स्थलको अवलोकन गरिएको थियो।
स्थलगत निरीक्षणका क्रममा आयोजनाको खानेपानी मुहान, निर्माणको अवस्था, पानीको स्रोत, पूर्वाधार निर्माण तथा आयोजना कार्यान्वयनका क्रममा देखिएका व्यावहारिक समस्याबारे सम्बन्धित प्राविधिक तथा सरोकारवाला पक्षसँग जानकारी लिइएको थियो।
इन्द्रावती गाउँपालिकाका नागरिकलाई स्वच्छ, सुरक्षित र भरपर्दो खानेपानी उपलब्ध गराउने उद्देश्यले अघि बढाइएको बृहत् खानेपानी आयोजना अपेक्षित रूपमा प्रभावकारी हुन नसक्नुका कारण पहिचान गरी समाधानका लागि सम्बन्धित निकायबीच आवश्यक समन्वय र सहकार्यलाई तीव्रता दिने विषयमा समेत जोड दिइएको छ।
स्थानीय नागरिकको आधारभूत आवश्यकतासँग प्रत्यक्ष जोडिएको खानेपानी आयोजना समयमै सम्पन्न गरी प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन आवश्यक पहल गर्ने प्रतिबद्धता सहभागीहरूले व्यक्त गरेका छन्।
उक्त अनुगमन तथा छलफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इन्द्रावती गाउँपालिकाको पहलमा भएको रास्वपा इन्द्रावती गाउँपालिका सभापति उमेश अधिकारीले बताए।
अधिकारीका अनुसार आयोजनाको वास्तविक समस्या पहिचान गरी सम्बन्धित मन्त्रालय, विभाग, पालिका तथा निर्माण पक्षबीच समन्वय गरेर समाधानको बाटो खोज्ने उद्देश्यले स्थलगत अनुगमन गरिएको हो।

