नुवाकोट - वर्षाका कारण पहिरो, लेदो तथा गेग्रान खस्ने जोखिम बढेपछि नुवाकोटको टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार शिवपुरी गाउँपालिका–८, घट्टेखोलास्थित सडकमा जोखिम बढेपछि हरेक दिन राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।
भदौ १ गते रातिदेखि लागू भएको यो व्यवस्था अर्को सूचना जारी नभएसम्म कायम रहनेछ। सडक नुवाकोट हुँदै धादिङ तथा चीनसँगको रसुवागढी नाकासम्म जोडिने मुख्य मार्ग भएकाले जोखिम बढेसँगै यात्रुको सुरक्षालाई प्राथमिकता दिइएको प्रशासनले जनाएको छ।
अत्यावश्यक सेवाका एम्बुलेन्सलगायत आकस्मिक सवारीसाधन भने सञ्चालन गर्न दिइनेछ। जोखिमयुक्त क्षेत्रमा सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ।
प्रशासनले वर्षाको समयमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र रातिको समयमा यात्रा नगर्न सर्वसाधारण तथा यातायात व्यवसायीलाई आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले सडक तथा मौसमको अवस्था जोखिमपूर्ण रहेकाले प्रशासनको निर्णय कार्यान्वयनमा सहयोग गर्न अनुरोध गरेको छ।

