Harsamaya
सात वर्षदेखि अलपत्र दुई पुलको ठेक्का रद्द
सांकेतिक तस्वीर: हर समय/Har Samaya

बाजुरा - सात वर्षदेखि अलपत्र अवस्थामा रहेका बाजुराका दुई पुल निर्माणको काम अघि बढाइने भएको छ। निर्धारित समयमा निर्माण सम्पन्न नगरेपछि ठेक्का रद्द गरिएका बूढीगंगा–त्रिवेणी र बडिमालिका–गौमुल जोड्ने पुल निर्माणका लागि नयाँ प्रक्रिया सुरु गरिएको हो।

२०७५ सालमा दुवै पुल निर्माणका लागि ‘डिजाइन एण्ड बिल्ड’ मोडलमा ठेक्का आह्वान गरिएको थियो। तर, निर्माण व्यवसायीले निर्धारित समयभित्र काम सम्पन्न नगरेपछि उक्त ठेक्का रद्द गरिएको छ।

लामो समयदेखि पुल निर्माण नहुँदा विशेषगरी वर्षायाममा स्थानीय तहबीचको आवतजावत पूर्ण रूपमा अवरुद्ध हुने समस्या छ। यसलाई मध्यनजर गर्दै पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको नेपाल पूर्वाधार कम्पनीमार्फत निर्माण प्रक्रिया अघि बढाउन थालिएको जनाइएको छ।

निर्माण कार्य छिटो अघि बढाउने उद्देश्यले इन्जिनियर खटाएर दुवै योजनास्थलको स्थलगत प्रमाणीकरणसमेत सम्पन्न गरिएको छ।

वर्षौंदेखि अलपत्र रहेका विकास आयोजनालाई अघि बढाउने सरकारी प्रयासस्वरूप यी पुल निर्माणलाई प्राथमिकतामा राखिएको जनाइएको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update