Harsamaya
आन्दोलन शान्तिपुर्ण हुन्छ, भड्काउने काम नगर्नुहोस्: कमल थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापा ।

काठमाडौं - राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ बाट शुरु हुने आन्दोलन शान्तिपूर्ण हुने दाबी गरेका छन् ।

आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले संविधानले दिएको अधिकार अनुसार आफूहरूले फरक बिचार र मुलुक संचालनको मार्गचित्र प्रस्तुत गरिरहेको समेत स्पष्ट पारे ।

ब्रम्हलुट र मनपरी तन्त्रलाई निरन्तरता दिनको लागि हाम्रो आन्दोलनलाई गलत ढंगले दुष्प्रचार गर्न खोजिएको भन्दै उनले आपत्ति समेत प्रकट गरे । 

‘आन्दोलन शान्तिपुर्ण हुन्छ।  हामी भ्रष्टाचार , कुशासन , बेरोजगारी , योजनाबद्ध भइरहेको धर्म परिवर्तनको विरुद्धमा छौं, हामी देशको समृद्धि र प्रगति चाहन्छौं , राष्ट्रियता बलियो बनाउन चाहन्छौ, प्रजातन्त्र सुदृढ हुनुपर्छ भन्ने हाम्रो मान्यता हो, पछिल्लो समय केही भ्रम सिर्जना गराउन खोजिँदैछ, त्यो चिर्दै अघि बढ्छौ’ थापाले भने ।

उनले थपे, ‘सरकार हाम्रो जायज माग र आन्दोलन प्रति गम्भीर बनोस् भन्ने हाम्रो चाहना छ , दमन गर्न तर्फ अग्रसर भए जनताको अधिकार र भावनालाई कुण्ठित गर्ने दुष्प्रयास गरे स्वाभाविक रूपमा असजिलो परिस्थिति निर्माण हुन्छ।’

जेठ १५ गतेको तयारीमा जुट्न र बढी भन्दा बढी जनसहभागिता गराउन उपत्यका भरी जनजागरण अभियानमा कृयाशिल हुन कार्यकर्ता पङ्‌क्तिलाई सो अवसरमा निर्देशन समेत उनले दिए ।

यो देश बचाउने र बनाउने आन्दोलन भएकोले सबैको सहभागी जरुरी भएको थापाको तर्क छ ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई थापाले पार्टीमा स्वागत समेत गरे ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update