
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको असहयोग र हस्तक्षेपको कारण देखाउँदै उपकुलपति केशरजंग बरालले १५ चैतमा राजीनामा दिएपछि त्रिविमा उपकुलपति पद रिक्त रहेको छ। डेढ महिनादेखि त्रिवि उपकुलपतिविहीन भएपनि प्रधानमन्त्री तथा कुलपति ओलीले नियुक्ति प्रक्रिया सुरु गरेका छैनन्। कुलपतिले गठन गरेको समितिको सिफारिसका आधारमा उपकुलपति नियुक्त हुने व्यवस्था त्रिवि ऐनमा छ । तर अहिलेसम्म सिफारिस समितिसमेत गठन गरिएको छैन ।
चार वर्षका लागि उपकुलपतिमा नियुक्त भएको १३ महिनामै बरालले राजीनामा दिएका थिए । उनको राजीनामा ढिला स्वीकृत गरी ओलीले २ वैशाखमा रेक्टर खड्ग केसीलाई तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिएका थिए । त्यसयता रेक्टरको कामकाज मानविकी तथा सामाजिकशास्त्र संकायका डिन दुविनन्द ढकालले गर्दै आएका छन् । त्रिवि ऐनमा उपकुलपति रिक्त रहे रेक्टरलाई बढीमा ३ महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिन सकिने व्यवस्था छ । त्यस अवधिमा शिक्षामन्त्रीको संयोजकत्वमा ३ सदस्यीय उपकुलपति छनोट तथा सिफारिस समिति गठन गरी नियुक्ति प्रक्रिया अघि बढाउनुपर्नेछ ।
प्रधानमन्त्रीको सचिवालयले भने बीचमा शिक्षामन्त्री तथा सहकुलपति परिवर्तन भएका कारण सिफारिस समिति गठन हुन नसकेको जनाएको छ । विद्या भट्टराईले राजीनामा दिएपछि ११ वैशाखमा रघुजी पन्तलाई शिक्षामन्त्री बनाइएको छ ।
२०८० फागुनमा बराललाई उपकुलपतिमा नियुक्त गरिएका बेला आवेदन माग गरेर प्रक्रिया अघि बढाइएको थियो । सिफारिस समितिअन्तर्गत विज्ञ समिति गठन गरी आवेदकको व्यक्तिगत योग्यता, सोचपत्र, कार्ययोजना मूल्यांकन गरी उच्च अंक ल्याउने ३ जनाको नाम सिफारिस गरिएको थियो ।