काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारी वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिम बढेकाले विद्यालयको पठनपाठन तथा परीक्षा सञ्चालनमा सावधानी अपनाउन आग्रह गरेको छ।
मन्त्रालयले बुधबार जारी गरेको सूचनामार्फत विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षालाई प्राथमिकतामा राखी आवश्यक समन्वय गर्न आग्रह गरेको हो।
मन्त्रालयका अनुसार असोज ९, १० र ११ गते नेपालका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात तथा बाढी र पहिरोको सम्भावना रहेको मौसम पूर्वानुमान तथा विपद्सम्बन्धी सूचनाबाट देखिएको छ। यसबाट नदी, खोलानाला, डुबान, सडक अवरोध तथा विद्युत् र सञ्चार सेवामा समेत अवरोध हुनसक्ने भएकाले विद्यालय तथा शैक्षिक गतिविधिमा सावधानी अपनाउन भनिएको छ।
मन्त्रालयले सबै विद्यार्थी एवं बालबालिका, शिक्षक तथा कर्मचारी सुरक्षित रहने गरी असोज ८ र ९ गते स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार विद्यालय बिदा गर्न आग्रह गरेको छ।
त्यस्तै, विश्वविद्यालय र परीक्षा सञ्चालन गर्ने निकायले असोज ९ गतेदेखि ११ गतेसम्म तोकिएका परीक्षा आवश्यकताअनुसार स्थगित गर्न पनि आग्रह गरिएको छ।
मन्त्रालयले सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्नुपर्ने अवस्था आएमा स्थानीय तहसँग समन्वय गर्न तथा अभिभावकलाई आफ्ना बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका क्षेत्रमा जान नदिन आग्रह गरेको छ।
मन्त्रालयले सम्बन्धित शिक्षा विभाग, स्थानीय तह तथा सरोकारवाला निकायलाई आवश्यक समन्वय र सहजीकरण गर्नसमेत अनुरोध गरेको छ।

