काठमाडौं - शिक्षाविद् तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माको ८६ वर्षको उमेरमा निधन भएको छ।
उपचारका क्रममा काठमाडौँको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा बुधबार उनको निधन भएको हो। पारिवारिक स्रोतका अनुसार उनको अन्त्येष्टि बिहीबार गरिनेछ।
सिन्धुलीमा १९९७ साल साउनमा जन्मिएका डा. शर्माले रसायनशास्त्रमा विद्यावारिधि गरेका थिए। उनी नेपालको उच्च शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने शिक्षाविद्का रूपमा परिचित थिए।
सामुदायिक क्षेत्रबाट विश्वविद्यालय सञ्चालन तथा उच्च शिक्षाको विस्तारमा उनको महत्वपूर्ण भूमिका रहेको थियो। उच्च शिक्षालाई प्राविधिक तथा व्यावसायिक धारसँग जोड्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ उनले विभिन्न शिक्षालयमा रहेर काम गरेका थिए।
काठमाडौँ विश्वविद्यालय स्थापना भएपछि संस्थापक उपकुलपतिका रूपमा डा. शर्माले विश्वविद्यालयको शैक्षिक तथा संस्थागत आधार निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। उनको नेतृत्वमा विश्वविद्यालयले प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्राथमिकता दिँदै उच्च शिक्षामा नयाँ अभ्यासको सुरुआत गरेको थियो।
शिक्षाको गुणस्तर, अनुसन्धान तथा व्यावसायिक शिक्षाको विस्तारलाई प्राथमिकता दिनुपर्ने मान्यता राख्ने डा. शर्माले नेपालको उच्च शिक्षा क्षेत्रमा लामो समय योगदान दिएका थिए।

