Harsamaya
कर्णालीको खानेपानी समस्या समाधानतर्फ सरकारको साझेदारी पहल

काठमाण्डौं - कर्णाली प्रदेशको खानेपानी समस्या समाधानका लागि संघीय सरकार र प्रदेश सरकारबिच साझेदारीमा आधारित योजना अगाडि बढाइएको छ । सिंहदरबारमा कार्यक्रम आयोजना गरी नेपाल सरकारको खानेपानी मन्त्रालय र कर्णाली प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयबिच लागत सहभागितामा आधारित सम्झौता सम्पन्न भएको हो ।

कार्यक्रममा खानेपानी मन्त्री प्रदीप यादवले कर्णाली प्रदेशको विकट र दुर्गम क्षेत्रहरूमा खानेपानीको समस्या गम्भीर रहेको जनाउँदै त्यसको समाधानका लागि पर्याप्त बजेट विनियोजन गरिने प्रतिबद्धता जनाए। मन्त्री यादवका अनुसार यो सम्झौता संघीयता अन्तर्गत विभिन्न तहका सरकारहरूबिच समन्वय र सहकार्यको सकारात्मक उदाहरण हो।

सम्झौताका माध्यमबाट संघीय र प्रदेश सरकारबिच पारदर्शिता, उत्तरदायित्व र सेवा प्रवाहमा सुधार ल्याउने प्रयास हुने बताइएको छ । यसै गरी, कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाले कर्णालीमा पछाडि परेको खानेपानी क्षेत्रले यो आयोजनाबाट नयाँ दिशा पाउने विश्वास व्यक्त गरे ।

सम्झौता अनुसार, कुल १०० मिलियन अमेरिकी डलर (अन्दाजी १३ अर्ब ३८ करोड रुपैयाँ) लागत अनुमान गरिएको छ, जसमा ८० मिलियन अमेरिकी डलर अन्तर्राष्ट्रिय विकास संस्थाको ऋण सहयोग हुनेछ। बाँकी २० मिलियन डलर नेपाल सरकार, प्रदेश सरकार र सहभागी पालिकाहरूले संयुक्त रूपमा खर्च गर्ने व्यवस्था गरिएको छ ।

यस आयोजनामा संस्थागत सुधार, जलवायु अनुकूल पूर्वाधार निर्माण, एकीकृत जलस्रोत व्यवस्थापन, तथा आपत्कालीन अवस्थाको सम्बोधनजस्ता विभिन्न पक्षहरू समावेश छन्। वीरेन्द्रनगर नगरपालिकामा जलवायु जोखिम न्यूनीकरणमा केन्द्रित विशेष कार्यक्रमहरू सञ्चालन हुने जनाइएको छ ।

सम्झौतामा नेपाल सरकारको तर्फबाट सहसचिव ई. रमाकान्त दवाडी र कर्णाली प्रदेश सरकारको तर्फबाट सचिव इन्द्रदेव भट्टले हस्ताक्षर गरेका हुन्। कार्यक्रममा विभिन्न नगरपालिका प्रमुख, मन्त्रालयका सचिव तथा विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update