Harsamaya
स्वास्थ्यमन्त्री पौडेलले निःशुल्क घोषणा गरेको हेमोफिलियाको औषधी नेपाल आइपुग्यो
रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई वितरण गर्ने निःशुल्क औषधी नेपाल आएको छ ।

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले घोषणा गरेको रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई वितरण गर्ने निःशुल्क औषधी नेपाल आएको छ ।

समस्या परेका नागरिकलाई निःशुल्क औषधी उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व हेमोफिलिया महासंघबीच गत फागुन ४ गते सम्झौता भएको थियो ।

सम्झौता अनुसारको औाषधी स्वास्थ्य सेवा विभागमा आइपुगेको र अब वितरण प्रक्रिया शुरु हुने व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले जानकारी दिए । ‘५ प्रकारका औषधीआएको छ,’उनले भने,‘आवश्यकताअनुसार वितरण सूची तयार गरी अस्पतालमा पठाइनेछ ।’

मन्त्रालयले संघीय राजधानी काठमाडौंका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल तथा सिभिल अस्पतालमार्फत औषधी वितरण गर्ने भएको छ ।

यसका अलावा सातै प्रदेशका अन्य थप १० प्रादेशिक अस्पतालहरुमा औषधी पुग्ने व्यवस्था मन्त्रालयले मिलाएको छ । गत माघ १० गते सरकारी अस्पतालमार्फत यस्तो सुविधा उपलब्ध गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निर्णय गरेका थिए ।

निकै महँगो औषधी आवश्यक पर्ने रोगको उपचारका लागि धेरै बिरामी तथा सरोकारवालामार्फत सरकारले आफैं व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका थिए ।

त्यस अनुसार औषधी व्यवस्था विभागमा महासंघ र मन्त्रालय बीच यस सम्बन्धी सम्झौता भएपछि वितरणको प्रक्रिया शुरु भएको हो ।

अब महासंघबाट प्राप्त जटिल किसिमको वंशाणुगत तथा पछिसमेत देखिने यस रोगको उपचारका लागि पाँच प्रकारका औषधी मन्त्रालयले प्राप्त गरेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

विश्व स्वास्थ्य संगठनले नेपालमा पहिचान हुन नसकेका यस्ता करिब ५ हजार बिरामी रहेको अनुमान गरेको छ । २०७८ को जनगणनामा २.२ प्रतिशतमा अपांगता देखिएकामध्ये ०.८ मा हेमोफिलिया भएको हुनसक्ने अनुमान गरिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १५:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update