सप्तरी - राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पतालअगाडिको सडकपेटीमा शिशुलाई जन्म दिएको घटना सार्वजनिक भएपछि तीनवटा छानबिन समिति गठन गरिएको छ। सङ्घ, मधेस प्रदेश र जिल्लास्तरमा गठित समितिले घटनाबारे छानबिन सुरु गरेका छन्।
अस्पताल प्रशासनका अनुसार छानबिन समितिले घटनाका बेला कार्यस्थलमा खटिएका स्वास्थ्यकर्मी, चौकीदार, सरसफाइकर्मी र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जीतेन्द्र कँडेलसँग सोधपुछ गरिसकेको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राञ्जित झाले घटनाको प्रकृति, पीडित महिलाको अवस्था, स्वास्थ्यकर्मीको व्यवहारलगायत विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । घटनाको दिन आफू काम विशेषले काठमाडौँमा रहेको उनले बताए ।
प्रारम्भिक चरणमा घटनाका दिन प्रसूति वार्डमा कार्यरत चार स्वास्थ्यकर्मी, एक चौकीदार र एक सरसफाइकर्मी गरी छ जनालाई तत्काल निलम्बन गरिएको छ। छानबिन समितिको अन्तिम प्रतिवेदनका आधारमा उनीहरूबारे थप निर्णय गरिने डा. झाले बताए । उनका अनुसार छानबिनको अन्तिम टुङ्गो नलागेसम्म छ जनाकै निलम्बन कायम रहनेछ।
घटनाको स्थलगत छानबिनका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार सुप्रभात श्रेष्ठको नेतृत्वमा समिति गठन गरेको छ। त्यस्तै, मधेस प्रदेशसभाको महिला, बालबालिका तथा सामाजिक न्याय समितिका सदस्य किरणकुमारी साहको नेतृत्वमा र जिल्ला प्रशासन कार्यालयले जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सतिशकुमार यादवको नेतृत्वमा छुट्टाछुट्टै छानबिन समिति गठन गरेका छन्।
तीनवटै समितिले आजदेखि काम सुरु गरेका हुन्। समितिलाई घटनाबारे आ–आफ्नो तरिकाले सत्यतथ्य बुझेर सात दिनभित्र सम्बन्धित निकायमा प्रतिवेदन बुझाउने समय दिइएको छ।
राजविराज नगरपालिका–१४ परसाही टोलकी ३० वर्षीया बविता पासवान तीन दिनअघि सुत्केरी व्यथा लागेपछि गजेन्द्रनारायण सिंह अस्पताल पुगेकी थिइन्। यसअघि तीन सन्तानलाई स्वास्थ्य संस्थामै जन्म दिएकी उनी चौथो सन्तान जन्माउन अस्पताल पुगेकी थिइन्।
तर, उपचारका लागि आवश्यक रकम नभएपछि अस्पतालबाट बाहिर निस्किएकी बविताले सडकपेटीमै शिशुलाई जन्म दिएकी थिइन् । स्वास्थ्यकर्मीले पुर्जामा लेखिदिएको ३ हजार २०० रुपैयाँको जाँच गराउन रकम नभएपछि पैसा जुटाउन बाहिर निस्किएका बेला उनले सडकपेटीमा शिशुलाई जन्म दिएको थिइन् ।
घटनाको दृश्य सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक भएपछि घटनाको सत्यतथ्य पत्ता लगाउन तीनवटा छानबिन समिति गठन गरिएको हो।

