Harsamaya
श्रोत नखुलेको रकम सहित तीन भारतीय नागरिक पक्राउ
पर्सा सशस्त्र प्रहरीले ९ लाख ५९ हजार श्रोत नखुलेको रकम सहित तीन जना भारतीय नागरिक पक्राउ गरेको छ ।

रौतहट - पर्सा सशस्त्र प्रहरीले ९ लाख ५९ हजार श्रोत नखुलेको रकम सहित तीन जना भारतीय नागरिक पक्राउ गरेको छ ।

भारतबाट नेपाल प्रवेश गरिरहेको बिआर २२ पी ८३०० नम्बरको स्कार्पियो गाडीमा लुकाइ छिपाइ ल्याइएको ९ लाख ५९ हजार रुपैयाँसहित सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

भारतको पश्चिम चम्पारण, बेतिया ग्राम पंचायत वडा नं.७ निवासी ५९ वर्षीय विजय प्रसाद, जौकटिया ग्राम पंचायत वडा नं.१२ निवासी ४६ वर्षीय मनोज कुमार सहनी, र छाउनी चोक ग्राम पंचायत वडा नं.२७ निवासी ४३ वर्षीय सन्तोष कुमार श्रीवास्तवलाई पक्राउ गरिएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता डीएसपी देवेन्द्रबहादुर सिंहले बताए ।

वीरगन्ज भन्सार कार्यालयको जाँच बिन्दुको सडक नजिकबाट उनीहरूलाई पक्राउ गरिएको उनले जानकारी दिए । उनीहरूलाई सवारी साधनको पछाडिको सिटमा रहेको पकेटभित्र लुकाइएको नगद रकमसहित नियन्त्रणमा लिएको डीएसपी  सिंहले बताए । 

बरामद नगदसहित तीन जना भारतीय नागरिक र स्कार्पियो गाडीलाई नियन्त्रणमा लिएर वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको र  कानुनी प्रक्रिया अघि बढाइएको  सशस्त्र प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update