
काठमाडौं - नेपाली भाषा, साहित्य र चित्रकलामा अतुलनीय योगदान पुर्याउने तीन स्रष्टा ‘वानिरा फाउन्डेसन’को विशेष सम्मानबाट सम्मानित भएका छन्। वानिरा फाउन्डेसनले कार्यक्रम गरि वरिष्ठ प्राध्यापक रामकुमार पाँड, कलाकार शशि शाह र कवि कृष्ण बाउसेलाई पुरस्कार प्रदान गरिएको हो।
प्राध्यापक पाँडलाई नेपाली साहित्यमा साढे छ दशकभन्दा बढी समयसम्म सक्रिय रहेर पुर्याएको योगदानस्वरूप ‘वानिरा प्रज्ञा पुरस्कार’ प्रदान गरिएको छ। यस्तै, अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उजागर गर्ने चित्रकलाकार शशि शाहलाई ‘वानिरा शङ्कर पुरस्कार’ प्रदान गरिएको छ। यी दुबै पुरस्कारको राशि जनही एक लाख रुपियाँ रहेको छ। कविता मार्फत नेपाली भाषाको संवर्धनमा योगदान पु¥याएका कवि कृष्ण बाउसेलाई भने ५० हजार रुपियाँ राशिसहित ‘वानिरा पुरस्कार’ प्रदान गरिएको छ।
समारोहमा पुरस्कृत स्रष्टाहरूको उपस्थितिमा डा. वानिरा गिरीकृत कवितासङ्ग्रह ‘एउटा एउटा जिउँदो जङ्गबहादुर’ को नयाँ संस्करण पनि लोकार्पण गरिएको थियो। फाउन्डेसनकी अध्यक्ष इन्दिरा प्रसाईले सबै पुरस्कारहरू प्रदान गरेकी थिइन्।