
ज्यामिरे - मेलम्ची नगरपालिका वडा नं. ९ ज्यामिरेमा शिक्षकको पेसागत क्षमता विकास सम्बन्धी एक हप्ते आधारभूत मन्टेश्वरी तालिम आजबाट सुरु भएको छ ।
वडा शिक्षा समितिको आयोजनामा श्री जनता माध्यमिक विद्यालयमा शुरु गरिएको उक्त तालिमको नगर प्रमुख आइतमान तामाङले उद्घाटन गरे । तालिम उद्घाटन गर्दै प्रमुख अतिथि तामाङले यस तालिमले शिक्षकहरू सक्षम, दक्ष र योग्य भइ बालबालिकाको सिकाइ उपलब्धि वृद्धि हुनेमा आफू विश्वस्त रहेको बताए ।
कार्यक्रमका विशेष अतिथि शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सुधिनराज बुढाथोकीले मन्टेश्वरी शिक्षणको दक्षता हासिल गरी बालबालिकाहरू उपयुक्त सिकाइ वातावरणमा रमाई सिक्ने वातावरण सिर्जना हुँदा गुणस्तरीय शिक्षा प्रवर्द्धनमा मद्दत पुग्ने अपेक्षा राखे ।
तालिममा सिकेका कुरा व्यवहारिक प्रयोगमा जोड दिँदैं शिक्षा अधिकृत बुढाथोकीले बालबालिकाको सिकाइ उपलब्धि बढाउन कक्षाकोठामा रमाएर सिक्ने वातावरणको खाँचो रहेको औँल्याए ।
कार्यवाहक वडा अध्यक्ष सरिता पराजुलीले प्रारम्भिक बाल विकास शिक्षाको जग भएकोले बलियो बनाउन शिक्षकहरूलाई आग्रह गर्दै तालिम सफलताको शुभकामना दिए । उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य सातकन्या माविका प्रधानाध्यापक जनक अधिकारीले राखे । तालिमको सहजीकरण चाइल्ड डेभलपमेन्ट मन्टेश्वरी ट्रेनिङ एण्ड एजुकेसन सेन्टर प्रालिकी संस्थापक अध्यक्ष अनिता पाण्डेले गरेका छन् ।
तालिममा यस वडा भित्रका ६ वटा सामुदायिक विद्यालयमा कार्यरत बाल विकास सहजकर्ता, शिक्षक र प्रधानाध्यापकहरू गरी २० जनाको सहभागिता रहेको छ । वडा शिक्षा समितिका सदस्य सचिव एवम् जनता माविका प्रधानाध्यापक केदार विष्टको अध्यक्षतामा र गोल्मेश्वरी आधारभूत विद्यालयका शिक्षक पाण्डब अधिकारीले संचालन गरेका थिए । आजदेखि सुरु भएको यो तालिम १६ गतेसम्म चल्ने छ ।