
काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देशप्रति समर्थन जनाउँदै ‘श्री ५’ सम्बोधनसहित सरकारी लेटरहेड प्रयोग गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन प्रवद्र्धक रमेशराज बास्तोलालाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ।
पोर्चुगलको लिजबनमा कार्यरत पर्यटन प्रवद्र्धक बास्तोलाले पूर्वराजा शाहको ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा व्यक्त सन्देशलाई समर्थन गर्दै उक्त पत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। उनले सरकारी पदमा रहँदै संवैधानिक राजसंस्थाको पक्षमा खुलेर समर्थन जनाउँदा मन्त्रालयले यसलाई ‘पदीय मर्यादा विपरीत’ भन्दै औपचारिक रूपमा कारबाही प्रक्रिया अघि बढाएको हो।
बास्तोलाले संस्कृति मन्त्रालयको सरकारी लेटरहेडमा जारी गरेको पत्रमा पूर्वराजालाई ‘श्री ५ महाराजधिराज’ सम्बोधन गर्दै शाहको सन्देशलाई समर्थन गरिएको उल्लेख थियो। पत्रमा भनिएको छ,‘राष्ट्रको रक्षा, राष्ट्रिय एकता, समृद्धि र नेपालीहरूको गौरवका लागि व्यक्त गरिएको पूर्वराजाको शुभकामना सन्देशलाई हार्दिक स्वागत गर्दछु। साथै, संवैधानिक राजसंस्था, हिन्दू, बौद्ध, किरात राष्ट्र निर्माणका लागि सम्पूर्ण राष्ट्रवादी शक्तिलाई एकजुट हुन आग्रह गर्दछु।’
बास्तोलाले सत्तारूढ दलहरूलाई लक्षित गर्दै ‘२०६२/६३ पछिको परिवर्तन असफल भइसकेको’ तथा ‘राजतन्त्र नै अब देशको अन्तिम विकल्प भएको’ दाबी पत्रमा गरेका थिए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बास्तोलाको यो कार्य ‘राजनीतिक रूपमा पूर्वाग्रही र गैरजिम्मेवार‘ रहेको ठहर गरेको छ। मन्त्रालय सहायक प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘बास्तोलाले पर्यटन प्रवद्र्धकको पदीय जिम्मेवारी विपरीत कार्य गरेकाले पर्यटन प्रवद्र्धकसम्बन्धी कार्यविधि, २०७९ को दफा ५ बमोजिम उनलाई हटाउनुपर्ने कुनै कारण भए २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन गरिएको छ।’
बास्तोलाको यो कदमले सरकारी अधिकारीहरूले संवैधानिक राजसंस्थाको समर्थन गर्न सक्ने कि नसक्ने भन्ने बहस जन्माएको छ। सरकारले उनको भूमिकाबारे कठोर निर्णय गर्न सक्ने संकेत देखिएको छ, तर राजसंस्थाका समर्थकहरूले उनलाई कारबाही गर्न नहुने भन्दै पक्षमा उभिएका छन्।
अब बास्तोलाले सरकारलाई कस्तो स्पष्टीकरण दिनेछन् र उनको पद जोगिन्छ कि गुम्छ? यो विषय निकट भविष्यमै स्पष्ट हुनेछ।