Harsamaya
‘पाँचपोखरी र हेलम्बुमा सुरक्षित स्थान भेट्टाउनै गाह्रो’
सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपाली ।

सिन्धुपाल्चोक - सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले विपद्‍मा सही सूचना प्रवाह हुन नसकेमा गम्भीर क्षति भोग्न पर्ने अवस्था आउन सक्ने भएकोले समन्वय र सहकार्यलाई व्यवस्थित गर्न जरुरी रहेको बताएका छन् । अस्ट्रेलियन एड र प्राक्टिकल एक्सनको सहयोगमा सामुदायिक वातावरण संरक्षण मञ्च नेपालले चौतारामा गरेको कार्यक्रममा सूचनाले काम गर्न सजिलो हुने बताउँदै सबैले सुशासनकै लागी काम गर्ने भएकोले आग्रह पुर्वाग्रह नभई  सूचना सम्प्रेषण गर्न आग्रह गरे ।

त्यस्तै सिन्धुका पत्रकारहरूमा अनुशासन र धैर्यता पाइएको बताउँदै उनले विपदमा पत्रकारहरूको अग्रणी भूमिका हुने बताए । साथै तालिममा सिकेका कुरालाई कार्यक्षेत्रमा लागू गर्न पनि सुझाव दिए । 

जलवायु विज्ञ धरमराज उप्रेतीले संस्थाले गरिरहेको कामहरूको बारेमा भर्चुअल रूपमा जानकारी दिँदै पूर्व सूचनाको लागी प्रविधि विकाससँगै खोलामा बगेको पानी समेत कति छ भनेर सजिलै थाहा पाउन सकिने अवस्थामा आइपुगेको बताए । अहिले मानवसमाजले जलवायु परिवर्तन, प्रदूषण र जैविक विविधताले गर्दा समस्या भोगिरहेको उनले बतए । विपदले भौतिक र आर्थिक क्षति मात्रै नभै गैह्रआर्थिक क्षेत्रमा पनि धेरै क्षति हुने गरेको जानकारी दिए । सबै स्थानमा जोखिमको लेबल फरक हुने भएकोले सबै पक्षले बुझ्नुपर्ने बताउँदै विपदमा २४ घण्टा अघि मात्रै सूचना दिन सके पनि ३० प्रतिशतसम्म क्षति कम हुन सक्ने उनको भनाइ थियो । 

पूर्व सूचना प्रणाली प्रभावकारी रिपोर्टिङका बारेमा आफ्नो प्रस्तुति दिँदै वरिष्ठ पत्रकार दिपक अधिकारीले पत्रकारिता पेशा भनेको पहिला आफूले बुझ्ने र बुझाउने पेशा भएको बताए । पत्रकारले विज्ञसँग मात्र बुझेर समुदायमा तथ्यपरक सूचना दिन सकिने भएकोले यसमा ध्यान दिनुपर्नेमा जोड दिए । 

वर्षामा आधारित पहिरो पूर्व सूचना प्रणालीको बारेमा आफ्नो प्रस्तुति दिँदै प्राक्टिकल एक्सनका परियोजना प्रबन्धक बिना खड्काले रिसर्च हेर्दा पाँचपोखरी र हेलम्बुमा सुरक्षित स्थान भेट्टाउनै गाह्रो रहेको जानकारी दिइन् । त्यस्तै यी पालिकाहरूमा जोखिम न्यूनीकरणको सवालमा नेपालमै पहिलो पटक पहिरो पूर्व सूचना प्रणाली प्रयोगमा ल्याइएको बताइन् । उक्त क्षेत्रमा १६ ओटा स्वचालित हावापानी मापक यन्त्र जडान गरेको जानकारी दिँदै काम गर्न अब केही सहज हुने बताइन् । 

पाँचपोखरी थाङ्पाल गाउँपालिका विपद फोकल पर्सन नारायण क्षेत्रीले पालिकाले गरेको विपद पूर्व तयारीमा पहिला र अहिलेको अवस्था, पालिकाको आगामी योजना र चुनौतीको बारेमा आफ्नो प्रस्तुति दिएका थिए । 

प्राक्टिकल एक्सनका विशेष संगतले कार्यक्रमको उद्देश्य र संस्थाको बारेमा जानकारी दिँदै स्वागत मन्तव्य  राखेका थिए । यस क्रमामा संस्थाले सिन्धुपाल्चोकमा गर्दै आएका कामहरूको बारेमा जानकारी दिँदै विपद पूर्व तयारीले प्रतिकार्यमा सहयोग पुग्ने उनको भनाइ थियो । 

साहायक जिल्ला अधिकारी गणेश नेपाली, सिडिइसिफका कार्यवाहक अध्यक्ष इश्वरी अधिकारी, जिल्लाका पत्रकारहरू, संस्थाका कर्मचारीहरू लगायतको सहभागितामा पहिरो पूर्व सूचना प्रणाली परियोजना पहिरो सूचना प्रणाली सुदृढीकरण र स्थानीयकरण सम्बन्धी पत्रकार तथा मिडिया प्रतिनिधिहरूसँग अभिमुखीकरण कार्यक्रम कार्यक्रम भएको हो । 

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  ०७:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update