काठमाडौं - काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले स्रोत नखुलेको १ करोड ६७ लाख रुपैयाँभन्दा बढी नगदसहित तीन जनालाई पक्राउ गरेको छ।
नेपाल राष्ट्र बैंकले जारी गरेको आदेश तथा निर्देशनविपरीत गैरकानुनी रूपमा स्रोत नखुलेको रकम ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले मंगलबार ललितपुरको एकान्तकुना क्षेत्रमा निगरानी बढाएको थियो।
सोही क्रममा सानेपाबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२७ च २७६५ नम्बरको मिनी कन्टेनरलाई ललितपुर महानगरपालिका–४ स्थित नख्खु दोबाटो चोकमा रोकेर खानतलासी गर्दा १ करोड ६७ लाख ३३ हजार २३० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त गाडीमा सवार तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका–१० चापागाउँका ३२ वर्षीय जयराम केसी, भोजपुर नगरपालिका–३ का ३१ वर्षीय दीपक खड्का र काठमाडौं महानगरपालिका–१० बानेश्वर घर भई हाल वडा नम्बर ९ बत्तीसपुतली बस्ने २९ वर्षीय प्रज्वल रिजाल रहेका छन्।
प्रहरीले नगदसँगै महेन्द्र कम्पनीको बागमती प्रदेश ०१–०२७ च २७६५ नम्बरको मिनी कन्टेनर र विभिन्न कम्पनीका तीन थान मोबाइलसमेत बरामद गरेको छ।
पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल, ललितपुर पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

