सर्लाही - सामाजिक सञ्जालमार्फत मिथ्या तथा भ्रामक सूचना प्रकाशन तथा प्रसारण गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा बलरा नगरपालिका–७ निवासी २८ वर्षीय महेश पासवान र बलरा नगरपालिका–४ गडहिया टोलिया निवासी ३२ वर्षीय आलम मियाँ रहेका छन्।
प्रहरीका अनुसार पासवानले आफ्नो व्यक्तिगत फेसबुक खातामार्फत र मियाँले फेसबुक पेजबाट भ्रामक सूचना प्रकाशन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सामाजिक सञ्जालको प्रयोग गरी संवेदनशील घटनाका विषयमा वास्तविकताभन्दा फरक र भ्रामक सूचना फैलाएर सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधिमा संलग्न रहेको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यस्ता गतिविधिले समाजमा भ्रम र अशान्ति सिर्जना गर्नुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नकारात्मक असर पार्न सक्ने भन्दै प्रहरीले सामाजिक सञ्जाल प्रयोगकर्तालाई जिम्मेवार र सचेत भएर सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ।
प्रहरीले मिथ्या तथा भ्रामक सूचना प्रकाशन, प्रसारण वा शेयर नगर्न र त्यस्ता सूचना प्राप्त भएमा आधिकारिक स्रोतबाट पुष्टि गरेर मात्रै विश्वास गर्न अनुरोध गरेको छ। पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

