काठमाडौं - सशस्त्र प्रहरी बल, नेपालको कम्ब्याट पोशाक लगाएर एक व्यक्ति सडक पेटीमा सुतिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सशस्त्र प्रहरी बलका अनुसार भिडियोमा देखिएका व्यक्ति संगठनका सदस्य होइनन्। ती व्यक्तिले सशस्त्र प्रहरीको कम्ब्याट पोशाकको अर्ध भाग अर्थात् पाइन्ट लगाएर संगठनको पोशाक दुरुपयोग गरेको पाइएको छ।
भिडियोमा देखिएका व्यक्तिलाई सशस्त्र प्रहरीका सुरक्षाकर्मीका रूपमा चित्रण गर्दै वास्तविकता नबुझी विभिन्न भ्रामक सामग्री र टिप्पणी सामाजिक सञ्जालमा फैलाइएको संगठनले जनाएको छ। यस्ता सामग्रीले आम नागरिकमा भ्रम सिर्जना गर्न सक्ने भन्दै पोशाक दुरुपयोग गर्ने व्यक्ति र भिडियो बनाएर सामाजिक सञ्जालमा प्रसारण गर्ने व्यक्तिविरुद्ध प्रचलित कानुनअनुसार आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बलले उक्त भ्रामक भिडियोलाई संगठनसँग जोडेर नबुझ्न आम सर्वसाधारण तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ।
साथै, असम्बन्धित व्यक्तिले सशस्त्र प्रहरीको पोशाक, दर्ज्यानी चिह्न वा संगठनको पहिचान झल्किने सामग्री प्रयोग नगर्न अनुरोध गरेको छ। त्यस्ता गतिविधिबारे जानकारी प्राप्त भएमा सशस्त्र प्रहरी बलको निःशुल्क टेलिफोन नम्बर १११४ मा सूचना दिन पनि आग्रह गरिएको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले विज्ञप्तिमार्फत उक्त जानकारी दिएका हुन्।

