Harsamaya
आज विजयादशमी : टीकाको उत्तम साइत १०:२६ बजे

काठमाडौँ - नेपालीहरुको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमी मनाइँदैछ । आजको दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी दशैं मनाइँदैछ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेट निर्धारण गरेको छ। समितिका अनुसार देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा रहेको छ ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।

विजयादशमीमा टीका लगाउँदा दिइन्छ यस्तो मन्त्रसहितको आशीर्वाद
विजयादशमीमा टीका र जमरा लगाइदिँदा मान्यजनले दीर्घायु, सुख, समृद्धि, शक्ति र ज्ञानको कामना गर्दै संस्कृत मन्त्रद्वारा आशीर्वाद दिने परम्परा छ। पुरुष र महिलालाई आशीर्वाद दिँदा फरक–फरक मन्त्र उच्चारण गर्ने चलन छ।

पुरुषलाई आशीर्वाद दिँदा भनिने मन्त्र :
आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।

ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।

शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।

विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।।

महिलालाई आशीर्वाद दिँदा भनिने मन्त्र :
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।

दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।

यी मन्त्रमार्फत दीर्घायु, ऐश्वर्य, पराक्रम, दानशीलता, ज्ञान र कीर्तिसँगै देवीको शक्ति, मङ्गल र कल्याण प्राप्त होस् भन्ने कामना गरिन्छ। नेपालका विभिन्न समुदायमा कुलपरम्पराअनुसार रातो वा सेतो टीका लगाउने चलनसमेत छ।

प्रकाशित मिति: बुधबार, कात्तिक ४, २०८३  ०६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update