Harsamaya
दशैंमा प्रदान गरिने आशीर्वचनको महत्व र अर्थ के ?
उपप्राध्यापक डा. नारायणप्रसाद निरौला ।

काठमाडौं - विजयादशमी हिन्दू धर्मावलम्बीहरूको प्रमुख पर्व मात्र नभई नवरात्रभर गरिएको देवीको पूजा–आराधनाको प्रसाद र आशीर्वाद ग्रहण गर्ने विशेष दिनका रूपमा लिइन्छ । धार्मिक मान्यताअनुसार भगवान् श्रीरामले रावणमाथि विजय प्राप्त गरेको प्रसङ्गसँग पनि विजयादशमी जोडिएको छ ।

उपप्राध्यापक डा. नारायणप्रसाद निरौलाले विजयादशमीलाई नवरात्रभर गरिएको देवी आराधनाको प्रसाद र आशीर्वाद ग्रहण गर्ने विशेष दिन रहेको बताएका छन् ।

उनका अनुसार विजयादशमी भगवान् श्रीरामले रावणमाथि विजय प्राप्त गरेको प्रसङ्गसँग जोडिए पनि यसको मूल भाव देवी भगवतीको प्रसाद ग्रहण गर्नु र मान्यजनबाट आशीर्वाद लिनु हो । उनले नवरात्रभर गरिने पूजा–आराधनाको समापन दशमीमा विसर्जनसँगै हुने र त्यसपछि टीका तथा जमरा ग्रहण गर्ने परम्परा रहेको बताए ।

‘विजयादशमीको दिन विशेषगरी भगवतीको प्रसाद लिने हो । प्रसाद वा आशीर्वाद लिने समयका रूपमा विजया दशमीलाई लिन्छौँ,’ उनले भने, ‘नवरात्रभरि गरिएको देवीको शक्तिबाट प्राप्त हुने जुन प्रसाद छ त्यो ग्रहण गर्ने उत्तम समय हो । जसरी भान्सामा खानेकुरा पकाउछौ वा सबै तयार भइसकेपछि भोजन गर्ने बेला हुन्छ । त्यो अन्तिम समय भनेको विजया दशमीको हो ।’

निरौलाका अनुसार सप्तमीको फूलपातीदेखि नवमीसम्म विशेष पूजा–आराधना गरिन्छ भने दशमीमा विसर्जन गरी टीका, जमरा र प्रसाद ग्रहण गर्ने गरिन्छ । उनले विजयादशमीलाई नवरात्रको अन्तिम प्रसाद ग्रहण गर्ने दिन भएको बताए ।

उनले रातो टीकालाई शक्ति, शुभ र मङ्गलको प्रतीकका रूपमा लिने गरिएको बताए । देवीलाई रातो वस्तु प्रिय मानिने भएकाले शक्तिको उपासना गर्ने परम्परामा रातो टीका लगाउने चलन रहेको उनले बताएका छन् ।

उनले भने, ‘रातो शक्तिको प्रतीक हो । हामी शक्तिका उपासकहरू हौँ त्यसैले शक्ति प्राप्त गर्न खोजेका हौं । शक्तिको प्रतीकका रूपमा रातोलाई मानिने भएकाले पनि रातो टीकाको विशेष अर्थ छ । देवीलाई पनि रातो वस्तु प्रिय लाग्छ । रातो भनेको शक्ति र शुभ मङ्गलको प्रतीक पनि हो । त्यसैले रातो रङलाई प्रयोग गरिएको हो ।’ 

यद्यपि स्थानीय तथा कुल परम्पराअनुसार कतिपय समुदायमा सेतो टीका लगाउने प्रचलनसमेत रहेको उनले बताए ।

त्यस्तै, जमरा देवीको प्रिय वस्तु तथा प्रसादका रूपमा ग्रहण गरिने निरौलाले बताए । घटस्थापनाका दिन जौं रोपेर नौं दिनसम्म हुर्काइएको जमरा दशमीमा देवीलाई अर्पण गरी प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहेको उनले बताए ।

विजयादशमीको साइतबारे उनले दशमीको दिनभर नै शुभ समय रहेको बताए। पञ्चाङ्ग निर्णायक विकास समितिले विशेष साइत निर्धारण गर्ने भए पनि त्यो विशेषतः राष्ट्रप्रमुखलगायतका लागि महत्वपूर्ण समय भएको उनले बताए । विजयादशमी आफैँमा शुभ दिन भएकाले टीका तथा प्रसाद ग्रहण गर्न विशेष साइत नै कुर्नुपर्ने बाध्यता नरहेको उनले बताए ।

उनका अनुसार विजया दशमीलाई सम्पूर्ण कार्य सिद्धिका लागि उत्तम समयका रूपमा शास्त्रमा उल्लेख गरिएको छ । अझ उत्तम समय निर्धारणका लागि श्रवण नक्षत्रसहितको विजयादशमीलाई विशेष शुभ मान्ने परम्परा रहेको उनले बताए ।

आशीर्वचनको महत्व
दशैंमा दिइने आशीर्वचनको पनि विशेष महत्व रहेको उनले बताए । ‘आयुर्द्रोणसुते श्रियो दशरथे, शत्रुक्षयो राघवे, ऐश्वर्यं नहुषे, बलं हलधरे, सत्यञ्च कुन्तीसुते, विज्ञानं विदुरे, कीर्तिश्च नारायणे’ लगायतका आशीर्वचनमार्फत दीर्घायु, श्री, शक्रुनाश, ऐश्वर्य, शत्ति, सत्य, ज्ञान र कीर्तिको कामना गरिने उनले बताए ।

आयुर्द्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे
ऐश्वर्यं नहुषे बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां शौर्यं सूर्यसुते
बलं हलधरे शौर्यं सूर्यसुते बलं हलधरे
सत्यञ्च कुन्तीसुते विज्ञानं विदुरे भवन्तु भवताम्
कीर्तिश्च नारायणे

उनका अनुसार द्रोणपुत्र अश्वत्थामाको जस्तो दीर्घायु, राजा दशरथको जस्तो श्री, भगवान् रामको जस्तो शत्रु नाश गर्ने क्षमता, राजा नहुषको जस्तो ऐश्वर्य, बलरामको जस्तो बल, युधिष्ठिरको जस्तो सत्यनिष्ठा, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति प्राप्त होस् भन्ने कामना आशीर्वचनमा गरिन्छ ।

उनले दसैँको आशीर्वचनमा विभिन्न देवीका मन्त्र तथा अन्य धार्मिक मन्त्रहरूको समेत प्रयोग हुने भए पनि नेपाली समाजमा ‘आयुर्द्रोणसुते’ लगायतका आशीर्वचन बढी प्रचलित रहेको बताए ।

यसरी विजयादशमी केवल टीका र जमरा लगाउने पर्व मात्र नभई नवरात्रभर गरिएको देवी आराधनाको प्रसाद ग्रहण गर्ने, शक्ति र शुभताको कामना गर्ने तथा अग्रजबाट आशीर्वाद लिने महत्वपूर्ण धार्मिक अवसरका रूपमा मनाइँदै आएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ४, २०८३  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update