Harsamaya
पहाड र तराई–मधेशमा दशैँको टीका परम्परा फरक, आशीर्वादको अर्थ उस्तै : संस्कृतीविद् राकेश
संस्कृतिविद् रामदयाल राकेश

काठमाडौं - विजयादशमीमा पहाडमा जस्तो निधारमा रातो टीका र जमरा लगाउने चलन तराई–मधेशमा व्यापक छैन । तर परिवारका अग्रजले आफूभन्दा कान्छालाई आशीर्वाद दिने र विजयको उत्सव मनाउने परम्परा भने दुवै क्षेत्रमा समान रहेको संस्कृतिविद् रामदयाल राकेश बताउँछन् ।

राकेशका अनुसार तराई–मधेशमा पनि विजयादशमीका दिन परिवारका ज्येष्ठ सदस्यले कनिष्ठलाई टीका लगाइदिने र आशीर्वाद दिने चलन छ । तर पहाडी क्षेत्रमा देखिने रातो टीका, अक्षता र जमराको संयोजन त्यहाँ उस्तै रूपमा प्रचलित छैन । दशैँ मनाउने विधिमा भिन्नता भए पनि यसको मूल भावना भने आशीर्वाद, विजय र पारिवारिक सम्बन्धसँग जोडिएको उनको भनाइ छ ।

‘टीका लगाउनुको अर्थ आफूभन्दा सानालाई आशीर्वाद दिनु हो । त्यसैले विजयादशमी विजयको प्रतीक पनि हो,’ राकेश भन्छन् । उनका अनुसार विजयादशमीलाई रामले रावणमाथि विजय प्राप्त गरेको प्रसंगसँग जोडेर पनि व्याख्या गरिन्छ । विजयको उत्सवका रूपमा मनाइने यस पर्वले मानिसलाई आपसी भेटघाट, शुभकामना र खुसी साटासाट गर्ने अवसर दिन्छ ।

घरघरमा जमरा पुर्‍याउने चलन हराउँदै
तराई–मधेशमा विगतमा दशैँका बेला ब्राह्मणहरू घरघरमा पुगेर जमरा लगाइदिने र दक्षिणा लिने चलन थियो । यो परम्परा ब्राह्मण समुदायका लागि आम्दानीको स्रोतसमेत बनेको राकेश बताउँछन् । तर पछिल्लो समय यस्तो अभ्यास घट्दै गएको छ । ‘पहिला ब्राह्मणहरू घरघरमा गएर मानिसको टाउकोमा जमरा राखिदिने र दक्षिणा लिने गर्थे । अहिले त्यो चलन पनि हराउँदै गएको छ,’ उनी भन्छन् ।

उनका अनुसार पहिले घरघरमा पुगेर जमरा लगाइदिने परम्परामा मानिसहरूको रुचि बढी थियो । अहिले भने यस्तो अभ्यास गर्ने र गराउने दुवै पक्षको सहभागिता घटेको छ । यसले दशैँसँग जोडिएका पुराना धार्मिक तथा सांस्कृतिक अभ्यासमा आएको परिवर्तनलाई देखाउँछ ।

रामलीला अझैं सांस्कृतिक आकर्षण
तराई–मधेशमा दशैँको अर्को विशेषता रामलीला पनि हो । विशेषगरी पश्चिम तराईका विभिन्न गाउँमा रातिको समयमा रामको जीवन र रामायणका घटनामा आधारित रामलीला प्रदर्शन गर्ने परम्परा रहेको राकेश बताउँछन् ।

रामलीलाले धार्मिक कथा सुनाउने मात्र नभई समुदायका मानिसलाई एकै ठाउँमा भेला गराउने काम पनि गर्छ । दशैँका बेला हुने पूजापाठ, भजनकीर्तन र रामलीलाले धार्मिक आस्थासँगै सामूहिक सहभागिता र मनोरञ्जनलाई निरन्तरता दिएका छन् ।

दसैँका बेला जुवा खेल्ने चलन पनि पहिले रहेको तर अहिले कानुनी निषेध र सामाजिक परिवर्तनसँगै यस्तो अभ्यास घट्दै गएको राकेशको भनाइ छ ।

उनका अनुसार समयसँगै पर्व मनाउने विधि र त्यससँग जोडिएका अभ्यास परिवर्तन भइरहेका छन् । केही पुराना चलन हराउँदै गएका छन् भने केहीले नयाँ स्वरूप लिएका छन् । तर दसैँको मूल भाव—विजयको उत्सव, परिवारका सदस्यबीच आशीर्वादको आदानप्रदान र सामाजिक सम्बन्धको नवीकरण—अझै कायम रहेको उनको विश्लेषण छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ४, २०८३  ०८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update