Harsamaya
एकैपटक १ २९६ सशस्त्र प्रहरी जवान दीक्षित
सशस्त्र प्रहरी जवानको दीक्षान्त समारोह ।

काठमाडौं - सशस्त्र प्रहरी बल, नेपालका १ हजार २९६ जना सशस्त्र प्रहरी जवान आधारभूत तालिम पूरा गरी दीक्षित भएका छन्। उनीहरू असोज २९ गते दीक्षित भई कार्यक्षेत्रमा प्रवेश गरेका हुन्।

२०८२ साल मङ्सिर १९ गतेदेखि सञ्चालन भएको करिब १० महिनाको सि.सं. २३९ सशस्त्र प्रहरी जवान आधारभूत तालिम राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थसहित देशभरका १० वटा शिक्षालयमा सञ्चालन गरिएको थियो।

दीक्षित हुनेमध्ये राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थबाट १२३, पाथिभरा जवान तालिम शिक्षालय झापाबाट ११७, दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीबाट ११६, संयुक्त राष्ट्रसङ्घ शान्ति स्थापना तालिम शिक्षालय ककनीबाट २३३ र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११९ जना छन्।

त्यसैगरी हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटन, पोखराबाट ११५, सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट, पश्चिम नवलपरासीबाट १२५, सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँकेबाट ११६, राजस्व भन्सार तथा औद्योगिक सुरक्षा तालिम शिक्षालय टीकापुर, कैलालीबाट ११३ र बडिमालिका जवान तालिम शिक्षालय वनबेहडा, कैलालीबाट ११९ जना दीक्षित भएका हुन्।

तालिमका क्रममा प्रशिक्षार्थीले सैद्धान्तिक तथा व्यावहारिक ज्ञान, फौजी कला, सीप र दक्षता हासिल गरेका छन्। यसले उनीहरूमा अनुशासन, इमानदारी, कर्तव्यनिष्ठा, राष्ट्रप्रतिको समर्पण, मानवीय संवेदनशीलता तथा सङ्गठनप्रतिको जिम्मेवारीबोध विकास गर्ने विश्वास सशस्त्र प्रहरीले लिएको छ।

एकैपटक ठूलो सङ्ख्यामा जवान दीक्षित भई कार्यक्षेत्रमा प्रवेश गर्दा सीमा सुरक्षा, विपद् व्यवस्थापन तथा आन्तरिक सुरक्षालगायतका जिम्मेवारी निर्वाहमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरको प्रमुख आतिथ्यमा झापास्थित पाथिभरा जवान तालिम शिक्षालय र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अञ्जनीकुमार पोखरेलको प्रमुख आतिथ्यमा ककनीस्थित संयुक्त राष्ट्रसङ्घ शान्ति स्थापना तालिम शिक्षालयमा दीक्षान्त कवाज सम्पन्न भएको थियो।

अन्य शिक्षालयमा पनि सम्बन्धित सशस्त्र प्रहरी नायब महानिरीक्षकहरूको प्रमुख आतिथ्यमा दीक्षान्त कवाज सम्पन्न भएको सशस्त्र प्रहरी बलले जनाएको छ। तालिमको दीक्षान्त कवाज नेपाल सरकारको आर्थिक सुशासन तथा पारदर्शिताको नीतिअनुसार मितव्ययी ढङ्गले सम्पन्न गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update