काठमाडौं - काठमाडौँको माछापोखरीस्थित एक गेस्टहाउसबाट १५ ग्राम लागुऔषध आइस (मेथाम्फेटामाइन) जस्तो देखिने पदार्थसहित पाँच जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार असोज २७ गते साँझ करिब ५ः३० बजे काठमाडौँ महानगरपालिका–१६ माछापोखरीस्थित एक गेस्टहाउसमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जाँच गर्दा उनीहरूको साथबाट उक्त पदार्थ र तीन थान मोबाइल बरामद गरेको हो।
पक्राउ पर्नेमा रसुवाको नौकुण्ड गाउँपालिका–२ का ३२ वर्षीय सुमन थोक्रा, सोही गाउँपालिका–१ का २८ वर्षीय गणेश थोक्रा तामाङ, काठमाडौँको टोखा नगरपालिका–१ का २९ वर्षीय सुनिल तामाङ रहेका छन्।
त्यस्तै, धादिङको खनियाबास गाउँपालिका–५ घर भई काठमाडौँको तारकेश्वरमा बस्ने २२ वर्षीया योना तामाङ र १८ वर्षीय सुजन तामाङ पनि पक्राउ परेका छन्।
प्रहरीले उनीहरूविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप अनुमति लिएर प्रहरी वृत्त बालाजुले घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।

