सुनसरी - सुनसरीमा प्रहरीले ५७ किलो गाँजाजस्तो पदार्थ र एउटा मोटरसाइकल बरामद गरेको छ। प्रहरीलाई देखेपछि चालकहरू मोटरसाइकल र गाँजा छाडेर फरार भएका हुन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असोज २७ गते राति देवानगञ्ज गाउँपालिका–४ मेहता टोलमा नेपालबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ५० एएच १९१३ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्न खोज्दा चालक फरार भएका थिए।
मोटरसाइकल जाँच गर्दा कालो प्लास्टिकमा बेरिएको ५१ किलो गाँजाजस्तो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले उक्त मोटरसाइकल र पदार्थ नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय देवानगञ्जमा राखेको छ।
त्यस्तै, सोही दिन राति ८ः४५ बजे देवानगञ्ज गाउँपालिका–६ रासीबाट साहेबगञ्ज जाने भित्री सडकखण्डमा थप ६ किलो गाँजाजस्तो पदार्थ बरामद भएको छ। रासीबाट साहेबगञ्जतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिले प्रहरीलाई देखेपछि पहेँलो झोला फालेर फरार भएका थिए।
दुवै घटनामा बरामद भएको गाँजाजस्तो पदार्थको कुल परिमाण ५७ किलो रहेको छ। फरार मोटरसाइकल चालक तथा अन्य संलग्न व्यक्तिको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

