Harsamaya

नवलपरासी - पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बरामद गरेको छ।

बिहीबार बिहान करिब ३ः४५ बजे भारतबाट अवैध रूपमा भन्सार छली गरी ११ वटा हरियो ठूलो झोलामा मदिरा ल्याइएको गोप्य सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले उक्त मदिरा बेवारिसे अवस्थामा फेला पारेको हो।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, दाङ, प्रहरी चौकी रामनगर र इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको टोलीले जाँच गर्ने क्रममा ७५० मिलिलिटरका ७४२ बोतल ‘ओल्ड मङ्क’ रम बरामद गरेको हो।

प्रति बोतल अनुमानित २ हजार रुपैयाँका दरले बरामद मदिराको कुल मूल्य १४ लाख ८४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

बरामद मदिरा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलाटारीमा राखिएको छ।

प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update