Harsamaya
नवदुर्गाको चौथो स्वरूप कुष्माण्डाको पूजा, शक्ति र ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास
कुष्माण्डा देवी ।

काठमाडौं - बडादसैँको नवरात्रअन्तर्गत आज चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिँदैछ। दुर्गाका नौ स्वरूपमध्ये चौथो स्वरूपका रूपमा पुजिने कुष्माण्डा देवीको आराधना गरेमा दुःख, कष्ट र तीन प्रकारका तापबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ।

वैदिक सनातन परम्पराअनुसार आश्विन शुक्ल चतुर्थीका दिन दसैँघर तथा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजा गरिन्छ। आध्यात्मिक, आधिभौतिक र आधिदैविक गरी तीन प्रकारका तापले युक्त संसारलाई आफ्नो उदरमा धारण गर्ने देवी भएकाले उनलाई कुष्माण्डा भनिएको धार्मिक ग्रन्थमा उल्लेख छ।

दुर्गा सप्तशतीको देवी कवचमा पनि कुष्माण्डा देवीको स्वरूप र महिमाबारे वर्णन गरिएको छ। भक्तजनले नवरात्रका अवसरमा देवीको आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वासका साथ पूजापाठ गर्ने गर्छन्।

नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखेर सुरु गरिएको दुर्गापूजामा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी र चन्द्रघण्टाको पूजा सम्पन्न भइसकेको छ। चौथो दिन कुष्माण्डाको आराधनापछि पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने शास्त्रीय विधान छ।

नवरात्रका नौ दिन दुर्गा सप्तशती, श्रीमद्देवी भागवतलगायत धार्मिक ग्रन्थ तथा देवी स्तोत्र पाठ गरी देवीको आराधना गर्ने परम्परा छ। यस अवधिमा देशभरका शक्तिपीठमा बिहानैदेखि पूजाआराधना र दर्शनका लागि भक्तजन पुग्ने गर्छन्।

काठमाडौँ उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, भद्रकाली, नक्साल भगवती, शोभाभगवती, रक्तकाली, श्वेतकाली र दक्षिणकालीलगायत मन्दिरमा दसैँको अवसरमा विशेष पूजाआराधना गरिन्छ। उपत्यकाबाहिरका पलाञ्चोक भगवती, मनकामना, गढीमाई, छिन्नमस्ता, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, उग्रतारा र बागेश्वरीलगायत शक्तिपीठमा पनि दर्शनार्थीको चहलपहल बढ्ने गर्छ।

नवरात्रको नौ दिन देवीको आराधना गरेपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका र जमरा लगाएर आशीर्वाद लिने परम्परा छ। यसरी नेपाली समाजमा बडादसैँलाई धार्मिक आस्था, पारिवारिक भेटघाट र सांस्कृतिक परम्परासँग जोडिएको प्रमुख पर्वका रूपमा मनाइन्छ।

प्रकाशित मिति: बुधबार, असोज २८, २०८३  ०७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update