Harsamaya
दसैँको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
नवदुर्गामध्येकी दोस्रो रूप ब्रह्मचारिणी देवी ।

काठमाडौं - बडादसैँअन्तर्गत नवरात्रको दोस्रो दिन आज नवदुर्गामध्येकी दोस्रो रूप ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । 

आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिअनुसार घटस्थापना गरी जमरा राखेर पहिलो दिन शैलपुत्रीको पूजा गरिएसँगै दसैँ सुरु भएको होे । आज पूजास्थल तथा दसैँ घरहरूमा ब्रह्मचारिणी देवीको आह्वान गरी विशेष उपासना गरिन्छ । 

घटस्थापना गरिएको स्थलमा नवरात्रभर दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्रहरूको पाठ पारायण गर्ने परम्परा छ । संसारका समग्र प्राणीलाई सच्चिदानन्द रूप ब्रह्मको बोध गराउने शक्तिका रूपमा ब्रह्मचारिणी देवीको पूजा गरिने धार्मिक मान्यता छ । देवीको निष्ठापूर्वक साधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने जनविश्वास रहिआएको छ ।

यसै अवसरमा राजधानीको हनुमानढोकास्थित ऐतिहासिक दसैँ घरमा राज्यका तर्फबाट विधिपूर्वक पूजा आराधना हुने गरेको छ । आज काठमाडौं उपत्यकासहित देशभरका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरहरूमा बिहानैदेखि दर्शनार्थीहरूको बाक्लो उपस्थिति देखिएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update