Harsamaya
खानाका कारण यात्रु बिरामी भए कारबाही गरिने
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई गुणस्तरीय खाना, नास्ता उपलब्ध गराउन यातायात व्यवस्था विभागले होटल तथा रेस्टुरेन्ट सञ्चालक र सार्वजनिक यातायातका चालकलाई निर्देशन दिएको छ ।

विभागले सार्वजनिक यातायातका यात्रु खाना, नास्ता तथा खाना खुवाउन रोकिने होटल र रेस्टुरेन्टमा सरसफाइको कमी, बासी तथा झिँगा भन्केका र न्यून गुणस्तरका खाना उपलब्ध गराउने तथा अत्यधिक मूल्य लिने गरेको गुनासो बढेपछि यस्तो निर्देशन दिएको हो ।

विभागले सार्वजनिक यातायातका चालकलाई सफा, स्वच्छ र गुणस्तरीय खाना पाइने स्थानका होटल तथा रेस्टुरेन्टलाई प्राथमिकता दिन आग्रह गरेको छ । सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य स्वच्छता सम्बन्धी चिह्न टाँसिएका होटल तथा रेस्टुरेन्टमा मात्र यात्रुलाई खाना, नास्ता र खानाका लागि रोक्न भनिएको छ ।

होटल तथा रेस्टुरेन्टले उपलब्ध गराउने खाना न्यून गुणस्तरको भएका कारण यात्रु बिरामी परेको गुनासो आएमा सम्बन्धित निकायले सूक्ष्म निगरानी गर्ने विभागले जनाएको छ । खाना तथा नास्ताका कारण यात्रु बिरामी परेको पाइएमा सम्बन्धित सवारी चालक र होटल तथा रेस्टुरेन्ट सञ्चालकलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ ।

त्यस्तै, होटल तथा रेस्टुरेन्टमा खाना, नास्ताको स्वच्छता र गुणस्तरमा कमी भएको वा मूल्यमा ठगी भएको पाइएमा यात्रुलाई नेपाल प्रहरीको हेल्पलाइन नम्बर १०० मा फोन गरी जानकारी गराउन विभागले आग्रह गरेको छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका नजिकका कार्यालयमा समेत उजुरी गर्न सकिने विभागले जनाएको छ ।

विभागका निर्देशक मणिराम भुसालद्वारा जारी सूचनामा यात्रुलाई सुरक्षित, स्वच्छ र गुणस्तरीय खाना उपलब्ध गराउन सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २७, २०८३  २१:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update