Harsamaya
एक लाख नौ हजारले छाडे काठमाडौं 
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्नेको सङ्ख्या एक लाख नौ हजार नाघेको छ । घटस्थापनादेखि असोज २७ गतेसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपत्यका छाड्नेमा ६७ हजार ६९० पुरुष र ४१ हजार ९४६ महिला छन् । दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा व्यवसायका लागि उपत्यकामा बसोबास गर्दै आएका नागरिक घर फर्किन थालेपछि प्रमुख नाकामा यात्रुको चाप बढेको हो ।

उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ । यात्रुको चाप बढेसँगै ट्राफिक प्रहरीले सवारी आवागमन व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि निगरानी बढाएको छ ।

काफ्लेले चाडपर्वका समयमा यात्रुको सुरक्षा सुनिश्चित गर्न ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको बताए । उनले लामो दूरीको यात्रा गर्दा सवारीसाधनको अवस्था, चालकको स्वास्थ्य र सुरक्षित गतिमा विशेष ध्यान दिन आग्रह गरे ।

यातायात व्यवस्था विभागका अनुसार नागढुङ्गा–नौबिसे, मुग्लिन–नारायणगढ, कान्ति लोकपथ र बिपी राजमार्गलगायतका प्रमुख सडकमा दुवैतर्फ यातायात सञ्चालन भइरहेको छ ।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले यात्रुको चाप बढ्दै जाँदा मुख्य नाकामा यात्रा समय लम्बिन सक्ने भएकाले यात्राको योजना बनाउँदा पर्याप्त समय छुट्याउन आग्रह गरे । उनले ट्राफिक नियम पालना, सुरक्षित गति र यात्रुको क्षमताअनुसार सवारीसाधन सञ्चालनमा ध्यान दिनुपर्ने बताए ।

दसैँ मनाउन उपत्यका छाड्नेको सङ्ख्या आगामी दिनमा अझै बढ्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २७, २०८३  २१:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update