Harsamaya
सवारी दुर्घटनामा २४ घण्टामा १३ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोरङ, सुनसरी, सप्तरी, धनुषा, तनहुँ, कास्की, रुपन्देही, नुवाकोट, चितवन र नवलपरासी (पूर्व) मा भएका छुट्टाछुट्टै दुर्घटनामा उनीहरूको मृत्यु भएको हो ।

दुर्घटनामा पैदलयात्री, साइकलयात्री, मोटरसाइकल चालक तथा पछाडि सवार व्यक्तिहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोरङको उर्लाबारी नगरपालिका–७ बाघखोरमा असोज २६ गते बिहान कारको ठक्करबाट ७८ वर्षीय कृष्णबहादुर कार्कीको मृत्यु भएको छ । बाटो काट्दै गरेका कार्की र ८२ वर्षीया रामकुमारी राईलाई प्रदेश १–०१–००२ च २३६०७ नम्बरको कारले ठक्कर दिएको थियो । घाइते दुवैलाई उपचारका लागि अस्पताल लगिएकामा कार्कीलाई थप उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल पुर्‍याइएको थियो । चिकित्सकले बिहान ८ः५५ बजे उनलाई मृत घोषणा गरेका थिए । राईको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

सुनसरीको कोशी गाउँपालिका–२ काली मन्दिरस्थित सडकमा मोटरसाइकलको ठक्करबाट ४५ वर्षीया कौसिला यादवको मृत्यु भएको छ । असोज २६ गते दिउँसो को २०७ प २८५५ नम्बरको मोटरसाइकलले पैदलयात्री यादवलाई ठक्कर दिएको थियो । घाइते उनको विराटनगर लैजाने क्रममा दिउँसो ३ः१० बजे बाटोमै मृत्यु भएको हो ।

सुनसरीकै कोशी गाउँपालिका–८ कोशी ब्यारेजस्थित हनुमान मन्दिरनजिक भारतीय ट्रकको ठक्करबाट घाइते भएका २१ वर्षीय विजयकुमार मण्डलको पनि मृत्यु भएको छ । भारतीय नम्बर प्लेट यूपी ६५ एलटी ९९५१ नम्बरको ट्रकले साइकललाई ठक्कर दिँदा घाइते भएका सप्तरीको कञ्चनरूप नगरपालिका–११ सिमराटोलका मण्डलको उपचारका क्रममा असोज २६ गते राति ११ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

सप्तरीको बोदेबर्साइन नगरपालिका–६ प्रितमपुरमा नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट घाइते भएका ५५ वर्षीय राजेन्द्र यादवको मृत्यु भएको छ । असोज २५ गते साँझ साइकलमा सवार यादवलाई ठक्कर दिइएको थियो । विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत उनलाई थप उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएकोमा असोज २६ गते साँझ ४ः२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ लक्ष्मीनिया चोकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ३१ वर्षीय अजय ठाकुरको मृत्यु भएको छ । असोज २५ गते राति ज ९ प ३१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका ठाकुरको थप उपचारका लागि काठमाडौँ लैजाने क्रममा सिन्धुलीगढीको बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडास्थित भित्री सडकमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको थियो भने छ जना घाइते भएका थिए । दुर्घटनामा घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तनहुँकै व्यास नगरपालिका–१२ घाँसीकुवास्थित पृथ्वीराजमार्गमा ट्रक अनियन्त्रित भई सडकबाट तल खस्दा चालक सञ्जीव मगरको मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका ट्रक चालकलाई उपचारका लागि अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी ३७ वर्षीया सरिता तामाङको मृत्यु भएको छ । असोज २६ गते मोटरसाइकलले बाटो काट्दै गरेकी तामाङलाई ठक्कर दिएको थियो । घाइते उनको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ स्थित सडकमा मोटरसाइकललाई ठक्कर दिएर फरार रहेको टिपरको ठक्करबाट घाइते भएकी ३० वर्षीया बिनिता जैसवालको मृत्यु भएको छ । असोज २६ गते राति भएको दुर्घटनामा घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

नुवाकोटको शिवपुरी गाउँपालिका–६ सल्लाघारीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ५५ वर्षीय लभबहादुर जिसीको मृत्यु भएको छ । असोज २७ गते बिहान भएको दुर्घटनामा मोटरसाइकलको पछाडि सवार जिसी घाइते भएका थिए । उनलाई स्थानीय शिवपुरी आधारभूत अस्पताल पुर्‍याइएकामा बिहान १ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकल चालक कपिलराज गोतामे भने सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

चितवनको भरतपुर महानगरपालिका–१८ शशिनगरमा मोटरसाइकलबाट खस्दा घाइते भएकी ६३ वर्षीया रत्नकुमारी थापा सुयालको मृत्यु भएको छ । असोज २५ गते मोटरसाइकलको पछाडि सवार सुयाल अचानक खसेर टाउकोमा चोट लागेपछि उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको थियो । उनको असोज २६ गते दिउँसो ३ः३० बजे उपचारका क्रममा मृत्यु भएको हो ।

नवलपरासी (पूर्व) को गैँडाकोट नगरपालिका–५ कुसुमघाटमा बस र मोटरसाइकल ठोक्किँदा २६ वर्षीय राजु थापाको मृत्यु भएको छ । असोज २६ गते बिहान गैँडाकोट इङ्लिस स्कुलको ग १ ख ३९०७० नम्बरको बस र ना ५८ प ४५७२ नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका थापालाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो । चिकित्सकले बिहान ९ः३४ बजे उनलाई मृत घोषणा गरेका थिए ।

नवलपरासी (पूर्व) कै कावासोती नगरपालिका–१६ चालिस किलो जङ्गलमा स्कुटरको ठक्करबाट ६२ वर्षीय थमनसिंह रानाको मृत्यु भएको छ । असोज २५ गते साँझ पैदलयात्री रानालाई स्कुटरले ठक्कर दिएको थियो । घाइते उनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारका क्रममा असोज २६ गते दिउँसो १ः३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ गोटिज्युला बजारमा मिनी ट्रकको ठक्करबाट ७२ वर्षीय धनुनुनी आचार्यको मृत्यु भएको छ । असोज २६ गते मिनी ट्रकको ठक्करबाट घाइते भएका आचार्यलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुर्‍याइएको थियो । चिकित्सकले राति ८ः२५ बजे उनलाई मृत घोषणा गरेका थिए ।

प्रहरीले सबै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २७, २०८३  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update