काठमाडौं - नेपाली कांग्रेसको महामन्त्री पदका उम्मेदवार अमरसिंह पुनले निर्वाचनको परिणाम स्वीकार गरे पनि पार्टी रूपान्तरणको संकल्पबाट पछि नहट्ने बताएका छन् ।
महामन्त्री पदको निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसक्ने अवस्था बनेपछि पुनले आफ्नो उम्मेदवारी पद प्राप्तिका लागि मात्र नभई कांग्रेसलाई बदल्ने, नयाँ राजनीतिक संस्कार स्थापित गर्ने र पार्टीलाई जनताको भरोसाको केन्द्र बनाउने उद्देश्यले रहेको बताएका हुन् ।
उनले आफूलाई विश्वास गरेर मत दिने महाधिवेशन प्रतिनिधि तथा निर्वाचन अभियानमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । पुनले निर्वाचनलाई गुटभन्दा माथि उठाएर विचार, योग्यता, योगदान, आवश्यकता र रूपान्तरणका एजेन्डामा केन्द्रित गर्न नसकिएको अनुभूति भएको उल्लेख गरेका छन् । यद्यपि, अब निराशा, असमझदारी र आरोपमा अल्झिनुभन्दा निर्वाचनबाट पाठ सिकेर पार्टीलाई बदल्ने साझा संकल्पमा एकताबद्ध हुनुपर्ने उनको भनाइ छ ।
विशेष महाधिवेशनले दिएको म्यान्डेट र कांग्रेसको रूपान्तरणको एजेन्डा १५औँ महाधिवेशनबाट अनुमोदित भएको सन्दर्भ उल्लेख गर्दै पुनले त्यसको कार्यान्वयन सबैको साझा जिम्मेवारी भएको बताएका छन् ।
उनका अनुसार रूपान्तरण भाषण र नारामा मात्र सीमित हुनुहुँदैन । पार्टीको सोच, सङ्गठन, कार्यशैली, नेतृत्व चयनको संस्कार र जनतासँगको सम्बन्धमा समेत परिवर्तन देखिनुपर्छ । पुनले निर्वाचनका क्रममा उत्पन्न दूरी र असमझदारी अन्त्य गर्न पनि आग्रह गरेका छन् । विजयी उम्मेदवारलाई बधाई दिन, पराजित उम्मेदवारको योगदानको सम्मान गर्न र सबैलाई समेटेर अघि बढ्नुपर्ने उनको धारणा छ । पार्टीभित्र फरक विचार राख्नेहरूलाई पनि सम्मान, न्याय, सहभागिता र अवसर सुनिश्चित हुनुपर्ने उनले बताएका छन् ।
‘हाम्रो एकता व्यक्तिको वरिपरि होइन, विचार, विधि, विधान र रूपान्तरणको साझा संकल्पमा आधारित हुनुपर्छ,’ पुनले आफ्नो भनाइमा उल्लेख गरेका छन् । उनले आफ्नो राजनीतिक यात्रा कुनै एउटा पदमा पुगेर समाप्त नहुने स्पष्ट पारेका छन् । विचार, निष्ठा, पुस्तान्तरण, समावेशिता र रूपान्तरणका लागि निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचनको परिणामले आफ्नो जिम्मेवारी समाप्त नगर्ने बताएका छन् ।
‘म निर्वाचनको परिणामलाई स्वीकार गर्छु, तर परिवर्तनको आवश्यकतालाई बिर्सन सक्दिनँ। पद प्राप्त नहुँदैमा विचार त्यागिँदैन, परिणाम प्रतिकूल हुँदैमा जिम्मेवारी समाप्त हुँदैन,’ पुनले भनेका छन् ।
कांग्रेसलाई नयाँ सोच, नयाँ ऊर्जा र नयाँ राजनीतिक संस्कारसहित जनताको भरोसाको पार्टी बनाउन तथा १५औँ महाधिवेशनबाट अनुमोदित रूपान्तरणको एजेन्डालाई व्यवहारमा उतार्न आफू प्रतिबद्ध रहेको उनले बताएका छन् ।

