Harsamaya
कांग्रेस मतगणना : उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि, महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
डा. चन्द्रकान्त भण्डारी ।

काठमाडौं - नेपाली कांग्रेसको मतगणनामा खुला केन्द्रीय उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्यले अग्रता लिएका छन् । महामन्त्रीतर्फ प्रदीप पौडेल र अमरसिंह पुन मगर अगाडि छन् ।

खुला केन्द्रीय उपसभापति दुई पदका लागि भइरहेको मतगणनामा डा. भण्डारीले ६७९ मत प्राप्त गरेका छन् भने आचार्यले ३९३ मत पाएका छन् । गोविन्द भट्टराईले ३४५, सुरेन्द्रराज पाण्डेले ३३७, दीपक गिरीले २६४, धनराज गुरुङले २४० र प्रा.डा. चन्द्रमोहन यादवले १३८ मत प्राप्त गरेका छन् ।

महिला महामन्त्रीतर्फको एक पदमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएकी छन् । समावेशीतर्फ एक पदका लागि भइरहेको मतगणनामा विनोदकुमार चौधरीले ३८२ मतसहित अग्रता लिएका छन् । जीवन परियारले ३३०, फरमुल्लाह मन्सुरले १९०, सीता गुरुङले १७० र रञ्जित कर्णले १०७ मत प्राप्त गरेका छन् ।

महामन्त्रीका तीन पदमध्ये खुलातर्फ दुई पदका लागि भइरहेको मतगणनामा प्रदीप पौडेलले ७८८ मतसहित अग्रता लिएका छन् । अमरसिंह पुन मगरले ४७८ र उदयशमशेर राणाले ४५६ मत प्राप्त गरेका छन् । त्यस्तै, डा. सुनिलकुमार शर्माले ३२५, गुरुराज घिमिरेले १९७, नैनसिंह महरले १४८, शंकर तिवारीले २० र डा. सन्तोष उपाध्यायले १८ मत प्राप्त गरेका छन् ।

महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला (पन्त) ले ५८३ मत प्राप्त गर्दै अग्रता लिएकी छन् । महालक्ष्मी उपाध्याय (डिना) ले ५५७ र रीता खनालले १५३ मत प्राप्त गरेकी छन् । मतगणना जारी छ ।

प्रकाशित मिति: आइतबार, असोज २५, २०८३  ०७:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update