काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुरु भएको छ । शुक्रबार सम्पन्न मतदानपछि शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा मतगणना थालिएको हो ।
निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार खुला उपसभापति र महामन्त्री पदका उम्मेदवारको मतगणना सुरु गरिएको हो । मतगणनाअघि निर्वाचन समितिले उम्मेदवारहरूसँग छलफल गरेको थियो । त्यसपछि उम्मेदवारकै रोहवरमा मतपेटिका खोलेर गणना सुरु गरिएको हो । मतगणनास्थलमा सिसी क्यामेरा जडान गर्नुका साथै गणनामा सहभागी हुने प्रतिनिधिको नाम सङ्कलन गरिएको छ ।
यसअघि शुक्रबार राति मतदान सकिएपछि राष्ट्रिय सभागृहमा सभापति पदको मतगणना गरिएको थियो । उक्त निर्वाचनमा गगनकुमार थापा झण्डै ९४ प्रतिशत मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका थिए । उनले श्यामकृष्ण खड्गीलाई पराजित गरेका थिए ।
सभापति थापाले शनिबार पार्टी कार्यालयमा सम्बोधन गर्दै खड्गीसहित मतगणनामा पराजित हुने सबैलाई समेटेर अघि बढ्ने बताएका छन् । पार्टीमा सबैले जिम्मेवारी बहन गर्नुपर्ने उल्लेख गर्दै उनले निर्वाचनको परिणामले क्षणिक रूपमा जित–हार देखाए पनि जिम्मेवारीका हिसाबले सबैको भूमिका उत्तिकै महत्त्वपूर्ण हुने बताए ।
कांग्रेसको १५औँ महाधिवेशनमा यसअघि नै वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसकेका छन् ।

