Harsamaya
सर्लाहीमा म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

सर्लाही - सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कूलस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मलंगवा नगरपालिका–७ गणेशिया निवासी ३० वर्षीय अरविन्द साह रहेका छन् ।

प्रहरीका अनुसार असोज २४ गते बिहान ८:१५ बजे नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ना.१ ज ६३०८ नम्बरको म्याजिक जिपले विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०२–०१० प २२२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

म्याजिकको ठक्करबाट गम्भीर घाइते भएका साहलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको थियो । उपचारकै क्रममा बिहान ९:२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनामा संलग्न म्याजिक चालक हरिपुर नगरपालिका–२ हरिपुर बजार निवासी ३३ वर्षीय नजामुदिन बैठालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, असोज २४, २०८३  २०:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update