Harsamaya
झोर महाँकाल विद्यालयमा तामाङ भाषा पठनपाठन शुभारम्भ
खा नगरपालिका–१, झोरस्थित महाँकाल माध्यमिक विद्यालयमा तामाङ भाषा पठनपाठन शुभारम्भ

काठमाडौं - टोखा नगरपालिका–१, झोरस्थित महाँकाल माध्यमिक विद्यालयमा तामाङ भाषा पठनपाठन शुभारम्भ गरिएको छ।

तामाङ भाषा, लिपि, संस्कार र संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्दै नयाँ पुस्तामा मातृभाषाप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले शुक्रबार आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान गर्नुका साथै विद्यार्थीलाई विद्यालय झोलासमेत वितरण गरिएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश्वर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको हो।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख मुरारी तामाङ, टोखा नगरपालिका–७ का वडाध्यक्ष नरोत्तम राना, नेपाल तामाङ घेदुङका संघीय उपमहासचिव एवं भाषा समन्वय प्रमुख बिलाम मुक्तान, घेदुङका ऊर्जा तथा वातावरण विभाग प्रमुख शशिकर लामा, घेदुङका प्रदेश प्रतिनिधि, पालिका अध्यक्ष, स्थानीय समाजसेवी, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख प्रकाश अधिकारीले कुनै पनि कामको सुरुवात आफैँमा महत्त्वपूर्ण हुने बताए।

भाषा, संस्कार र संस्कृति हरेक समुदायका अमूल्य गहना भएको उल्लेख गर्दै उनले मातृभाषाको संरक्षण गर्नु सबैको साझा दायित्व भएको धारणा व्यक्त गरे। भाषा सिकाइको सुरुवातलाई निरन्तरता दिँदै निर्धारित लक्ष्यसम्म पुग्न सकिने उनको भनाइ थियो।

त्यसैगरी, नगरपालिकाका उपप्रमुख मुरारी तामाङले मातृभाषा समुदायको पहिचानको महत्त्वपूर्ण आधार भएको बताए। नयाँ पुस्ताले आफ्नो मातृभाषा बोल्न छोड्दै जानु र मौलिक भाषा लोप हुने अवस्थामा पुग्नु चिन्ताको विषय भएको उल्लेख गर्दै उनले स्थानीय विद्यालयमा तामाङ भाषा पठनपाठन सुरु हुनु संरक्षणको दिशामा महत्त्वपूर्ण कदम भएको बताए। 

मातृभाषालाई व्यवहारमा प्रयोग गर्दै बालबालिकालाई सानैदेखि भाषा सिकाउने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए।

नेपाल तामाङ घेदुङका संघीय उपमहासचिव एवं भाषा समन्वय प्रमुख बिलाम मुक्तानले मातृभाषा शिक्षालाई बालबालिकाको घरपरिवार र समुदायसँग जोडेर अघि बढाउनुपर्ने बताए।

उनले भाषा सिकाउने शिक्षकको भूमिकालाई आमासँग तुलना गर्दै झोर महाँकाल माध्यमिक विद्यालयमा तामाङ भाषा शिक्षिकाका रूपमा कार्यरत शान्त तामाङको योगदानको प्रशंसा गरे।

‘बच्चाले सबैभन्दा पहिले आमाबाट भाषा सिक्छ। त्यसैले भाषा पढाउने शिक्षिका शान्त तामाङ यस विद्यालयकी आमा हुनुहुन्छ। उहाँले विद्यार्थीलाई तामाङ भाषा सिकाउनु भनेको आफ्ना सन्तानलाई मातृभाषा सिकाएजस्तै हो। भाषा सिकाउनु भनेको शब्द र वाक्य सिकाउनु मात्र होइन, आफ्नो पहिचान, इतिहास, संस्कार र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्नु पनि हो,’ मुक्तानले भने । 

नेपाल तामाङ घेदुङले तामाङ भाषा, लिपि र मातृभाषामा शिक्षाको विस्तारका लागि लामो समयदेखि अभियान सञ्चालन गर्दै आएको उल्लेख गरे।

कार्यक्रममा तामाङ भाषा शिक्षिका शान्त तामाङले आफ्नो मातृभाषा बोल्न छाड्नु भनेको आफ्नै संस्कार र संस्कृति बिर्सनुसरह भएको बताइन्। 

मातृभाषाप्रतिको जिम्मेवारीबोधले आफू भाषा सिक्ने र सिकाउने अभियानमा लागेको उल्लेख गर्दै उनले नयाँ पुस्तालाई आफ्नै भाषामा बोल्न, पढ्न र लेख्न सक्षम बनाउने उद्देश्यले अध्यापन गराउने बताइन्। भाषा संरक्षणको अभियानमा सहयोग र सहजीकरण गरेकोमा उनले नेपाल तामाङ घेदुङप्रति आभार व्यक्त गरिन्।

यसैबीच, टोखा नगरपालिका वडा नम्बर ७ को सौजन्यमा विद्यार्थीलाई विद्यालय झोला वितरण गरिएको थियो। शैक्षिक सामग्रीले विद्यार्थीलाई अध्ययनप्रति प्रोत्साहित गर्ने र विद्यालयको शैक्षिक गतिविधिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मातृभाषामा शिक्षा प्रदान गर्दा बालबालिकाले आफ्नो मौलिक पहिचान, इतिहास र सांस्कृतिक सम्पदाबारे ज्ञान हासिल गर्नुका साथै समुदायसँगको सम्बन्धलाई थप बलियो बनाउन सक्ने कार्यक्रममा सहभागीहरूको धारणा थियो। भाषा संरक्षणलाई विद्यालयको पाठ्यक्रममा सीमित नराखी घरपरिवार, समुदाय र दैनिक व्यवहारमा समेत प्रयोग गर्नुपर्नेमा उनीहरूले जोड दिएका थिए।

तामाङ भाषा पठनपाठनको शुभारम्भसँगै झोर महाँकाल माध्यमिक विद्यालयमा मातृभाषा संरक्षणको नयाँ पहल सुरु भएको छ।

यसको प्रभावकारिता र निरन्तरताका लागि स्थानीय तह, विद्यालय व्यवस्थापन, शिक्षक, अभिभावक तथा नेपाल तामाङ घेदुङबीच सहकार्य आवश्यक देखिएको छ।

नयाँ पुस्तालाई आफ्नै मातृभाषा सिक्ने र प्रयोग गर्ने अवसर प्रदान गर्न सके मात्र भाषा, संस्कृति र सामुदायिक पहिचानलाई भावी पुस्तासम्म जीवन्त राख्न सकिने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति: शनिबार, असोज २४, २०८३  ११:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update