Harsamaya
२०० मिटर तल खस्यो स्कुल बस, चार विद्यार्थीसहित पाँचको मृत्यु
दुर्घटनाग्रस्त स्कूल बस ।

पोखरा - कास्कीको पोखरा महानगरपालिका–२८ कालिकानस्थित ओख्लेको भिरमा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक वृद्धसहित पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

कालिका इङ्ग्लिस बोर्डिङ स्कुलको ग.२ ख. १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो। बसमा सवार १९ जनाकै उद्धार गरी अस्पताल पुर्‍याइएकोमा उपचारका क्रममा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा करिब १२/१३ वर्षीया ममता तिवारी, १३/१४ वर्षीय अशिम कँडेल, नामथर नखुलेका दुई बालिका र पोखरा महानगरपालिका–२८ का ६५ वर्षीय बाबुराम तिवारी रहेका छन्।

प्रहरीका अनुसार ममता, अशिम र नामथर नखुलेका दुई बालिकाको बिहान उपचारका क्रममा मृत्यु भएको हो। बाबुराम तिवारी भने उपचारका लागि लिफ्ट मागेर सोही बसमा सवार भएका थिए।

दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको गण्डकी मेडिकल कलेज र ११ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गण्डकी अस्पतालमा उपचार भइरहेको छ।

गण्डकी मेडिकल कलेजमा उपचाररत तीन विद्यार्थीको अवस्था मध्यम रहेको छ। गण्डकी अस्पतालमा उपचाररत घाइतेमध्ये एक विद्यार्थीको अवस्था गम्भीर र अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये अधिकांशको टाउकोमा चोट लागेको छ। बस चालक तुलबहादुर गुरुङको अवस्था पनि मध्यम रहेको छ।

दुर्घटनामा घाइतेको उद्धार गर्ने क्रममा इलाका प्रहरी कार्यालय शिशुवामा कार्यरत प्रहरी जवान अर्जुन शाहीसमेत सामान्य घाइते भएका छन्। उनको गण्डकी अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३  ११:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update