Harsamaya
देशभरका प्रमुख नदीहरूमा बहाव सामान्य, भोलि केही नदीमा जलसतह बढ्न सक्ने 
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - देशभरका प्रमुख नदीनालाहरूमा पानीको बहाव हाल सतर्कता तहभन्दा तल सामान्य अवस्थामा रहेको छ । बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज सबै मुख्य नदीहरूमा जलसतह सामान्य घटबढको स्थितिमा रहेको छ । 

महाशाखाको पूर्वानुमान अनुसार आज देशभर बाढीको आकस्मिक जोखिम न्यून रहेको छ । यद्यपि, भोलि (आइतबार) भने केही नदीहरूको जलसतह उल्लेख्य रूपमा बढ्न सक्ने प्रक्षेपण गरिएको छ ।  

भोलि कोशी जलाधारअन्तर्गत तमोर (माझिटार र त्रिवेणी) तथा अरुण नदी (तुर्किघाट र सिम्ले) मा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान छ । यस्तै, नारायणी जलाधारअन्तर्गत बुढीगण्डकी (आरुघाट) र मर्स्याङ्दी (भकुन्डेबेसी र विमलनगर) तथा महाकाली नदी (दत्तु र पारिगाउँ) मा पनि पानीको बहाव उल्लेख्य बढ्ने महाशाखाले जनाएको छ । 

सप्तकोशी, त्रिशुली, कर्णाली, बाग्मती, पश्चिम राप्ती, बबई तथा कमला लगायतका अन्य प्रमुख नदीहरूमा भने आगामी केही दिनसम्म बहाव सामान्य घटबढमै रहनेछ । महाशाखाले देशभरका अधिकांश स–साना नदीहरूमा समेत बहाव सामान्य रहने र तत्काल आकस्मिक बाढी (फ्ल्यास फ्लड) को ठूलो जोखिम नरहेको स्पष्ट पारेको छ ।

प्रकाशित मिति: शनिबार, असोज २४, २०८३  १०:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update