भोजपुर - भोजपुरमा प्रहरीले २४४ किलो ७०० ग्राम गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।
हतुवागढी गाउँपालिका–९ स्थित धिरिङ खोलाको बगरबाट आमचोक गाउँपालिका–७ का १९ वर्षीय एकराज मगर पक्राउ परेका हुन्। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।
प्रहरीले मगरको साथबाट ६ बोरा गाँजा, मोटरसाइकल र मोबाइल बरामद गरेको छ। पक्राउ परेका उनलाई बरामद गाँजासहित जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान भइरहेको छ।
लागूऔषध गाँजासम्बन्धी कसुरमा भोजपुर जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश राईले जानकारी दिए ।
प्रहरीका अनुसार गाँजा खेती तथा ओसारपसार नियन्त्रण अभियानअन्तर्गत गत भदौमा ८२ रोपनीमा लगाइएको ३६ हजार ९० बोट र असोजमा ३४ रोपनीमा लगाइएको नौ हजार पाँच सय ५० बोट गाँजा नष्ट गरिएको छ।

