Harsamaya
चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालन
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - बडादसैँ, दीपावली, नेपाल सम्वत् र छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले आजदेखि ‘चाडपर्व लक्षित सुरक्षा योजना–२०८३’ लागू गरेको छ। सुरक्षा व्यवस्थाका लागि देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ।

प्रहरीका अनुसार चोरी, डकैती, जुवातास, सट्टेबाजी, तस्करी, सीमा अपराध, कालोबजारी, नक्कली नोट तथा हुण्डी कारोबार नियन्त्रणमा विशेष निगरानी गरिनेछ। देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष र सीमा नाकामा १०८ सहायता कक्ष स्थापना गरिएको छ।

चाडपर्वमा सवारी दुर्घटना न्यूनीकरणका लागि लामो दूरीका सवारीमा दुई चालक अनिवार्य गर्ने, सिट क्षमताभन्दा बढी यात्रु नराख्ने तथा सात दिनअघिको मेकानिकल परीक्षण प्रतिवेदन अनिवार्य गर्ने व्यवस्था गरिएको छ।

सुरक्षाका लागि ड्रोन, सिसीटिभी र शरीरमा लगाइने क्यामराको प्रयोग गरिनेछ। सम्भावित विपद्का घटनामा उद्धार तथा राहतका लागि विशेष प्रहरी टोलीसमेत तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, असोज २१, २०८३  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update