Harsamaya
प्रहरीमाथि हातपात गरी भाइलाई भगाएको आरोपमा वडाध्यक्ष पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

रुकुम पश्चिम - राष्ट्रसेवक कर्मचारीलाई कर्तव्य पालनमा बाधा अवरोध गरेको आरोपमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान विक पक्राउ परेका छन्।

प्रहरीका अनुसार आठबिसकोट–३ कै करिब ३३ वर्षीय गोपाल विक भन्ने वीरेन्द्र विकविरुद्ध अभद्र व्यवहारको जाहेरी परेपछि प्रहरीले उनको खोजी गरिरहेको थियो। सोही क्रममा बुधबार बिहान मुसिकोट नगरपालिका–१ कालिका मन्दिरस्थित सडकमा वीरेन्द्र र उनका दाइसमेत रहेका वडाध्यक्ष केशरमानलाई प्रहरीले फेला पारेको थियो।

वीरेन्द्रलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लैजान खोज्दा वडाध्यक्ष केशरमानले प्रहरी टोलीसँग विवाद गर्दै गालीगलौज तथा धकेलाधकेल गरेको र भाइलाई त्यहाँबाट भगाएको प्रहरीको भनाइ छ। त्यस क्रममा ड्युटीमा रहेका प्रहरी कर्मचारीमाथि हातपात गर्नुका साथै कपडासमेत च्यातेर कर्तव्य पालनमा बाधा पुर्‍याएको आरोपमा उनलाई सोही स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका वडाध्यक्ष विकविरुद्ध राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमबाट तीन दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विक यसअघि पनि अभद्र व्यवहार र ज्यान मार्ने उद्योगलगायतका मुद्दामा पक्राउ परिसकेका व्यक्ति हुन्। ती मुद्दामा उनी धरौटीमा छुटेका थिए।

प्रकाशित मिति: बुधबार, असोज २१, २०८३  ०७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update