Harsamaya
अर्को सूचना प्रकाशित नभएसम्म सिन्धुपाल्चोक–१ को क्षेत्रीय अधिवेशन स्थगित

सिन्धुपाल्चोक - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशनअन्तर्गत भइरहेको निर्वाचन प्रक्रिया स्थगित गरिएको छ।

क्षेत्रीय कार्यसमितिले जिल्ला निर्वाचन अधिकृतलाई पठाएको पत्रअनुसार असोज १३ गते भइरहेको निर्वाचनमा मतदान सकिएपछि समानुपातिकतर्फका पाँच जना उम्मेदवारको नामावली छुट्न गई निर्वाचन समितिको प्राविधिक त्रुटि भएको भन्दै तत्काल मतदान कार्य स्थगित गरिएको हो।

पत्रमा नेपाली कांग्रेसको निर्वाचन निर्देशिका २०८३ को दफा ४ को (ख) बमोजिम विशेष कारणवश अर्को सूचना प्रकाशित नभएसम्मका लागि मतदान कार्य स्थगित गरिएको उल्लेख छ।

क्षेत्रीय कार्यसमितिले निर्वाचन स्थगित भएको जानकारी क्षेत्र नम्बर १ अन्तर्गतका ४५ वटै वडाका प्रतिनिधि तथा इकाइ सभापतिहरूलाई गराएको छ।

क्षेत्रीय कार्यवाहक सभापति देवेन्द्र खड्काले जारी गरेको पत्रमा अब अर्को सूचना प्रकाशित भएपछि मात्रै बाँकी निर्वाचन प्रक्रिया अघि बढाइने उल्लेख छ।

प्रकाशित मिति: बुधबार, असोज १४, २०८३  २०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update