काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर दुई छुट्टाछुट्टै प्रक्रियाले गति लिइरहेका बेला वरिष्ठ नेता डा. शेखर कोइराला पक्षका नेता–कार्यकर्तालाई भने आफ्नो राजनीतिक बाटो रोज्ने खुला छुट दिइएको छ।
कोइराला स्वयं कुनै पनि समूहको महाधिवेशनमा सहभागी नहुने र पार्टी एकताको पक्षमा तटस्थ रहने अवस्थामा छन्। तर उनीनिकट नेता–कार्यकर्ताले पूर्वसभापति शेरबहादुर देउवा समूहले अघि बढाउन लागेको महाधिवेशन प्रक्रियामा सहभागी हुन पाउने भएका छन्। कोइरालाको सचिवालयले पनि उनीहरूलाई रोक नलगाउने स्पष्ट गरेको छ।
कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार अब सहभागी हुने वा नहुने निर्णय नेता–कार्यकर्ताले स्वविवेकमा गर्न सक्नेछन्। यसको अर्थ शेखर समूहबाट संस्थागत रूपमा देउवा समूहको अधिवेशनमा जाने निर्णय नभए पनि तल्लो तहका नेता–कार्यकर्ताका लागि सहभागिताको बाटो खुला गरिएको हो।
यसअघि कोइराला पक्षले दुवै पक्षले अघि सारेका महाधिवेशन प्रक्रियाबाट दूरी कायम गर्दै पार्टी एकताको वातावरण बनाउनुपर्ने धारणा राख्दै आएको थियो। कोइराला स्वयं दुवै महाधिवेशनमा सहभागी नहुने स्पष्ट पारिसकेका छन् ।
पूर्वसभापति देउवा समूहले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरेर मंसिर २१ देखि २३ गतेसम्म छुट्टै १५औँ महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ। समूहले आफ्नो कार्यतालिका निर्वाचन आयोगलाई समेत जानकारी गराएको छ।
देउवा समूहले गठन गरेको केन्द्रीय निर्वाचन समितिको नेतृत्व एकराज पोखरेलले गरिरहेका छन्। समितिले बिहीबारदेखि शनिबारसम्म वडा अधिवेशन सम्पन्न गर्न जिल्ला निर्वाचन समितिहरूलाई निर्देशन दिएको जनाइएको छ।

