काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेद बिर्सेर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यलाई बुधबार भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले आन्तरिक एकता सुदृढ गर्दै निर्वाचन केन्द्रित गतिविधि अघि बढाउन आग्रह गरे ।
उनले पार्टीभित्र एकअर्काका सामान्य असहमति र आलोचनालाई सहज रूपमा लिनुपर्ने बताए । ‘शत्रुका लात सहने, तर आफ्ना साथीका बात नसहने काम अब बन्द गरौँ । सानातिना असमझदारी छाडेर साझा सङ्कल्पका साथ एमाले एकजुट भई अघि बढ्नुपर्छ,’ ओलीले भने ।
पार्टीभित्र कुनै समस्या नरहेको दाबी गर्नुभन्दा संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउनुपर्नेमा उनले जोड दिए । विरोधीहरूले एमाले विभाजित हुने अपेक्षा गरे पनि पार्टी विचार र संगठनका हिसाबले एकढिक्का रहेको उनको दाबी थियो ।
ओलीले वर्तमान राजनीतिक परिस्थितिमा लोकतान्त्रिक अधिकारको रक्षा गर्दै आगामी निर्वाचनको तयारीलाई प्राथमिकतामा राख्नुपर्ने बताए । निर्वाचनलाई केन्द्रमा राखेर संगठन परिचालन गर्न उनले कार्यकर्तालाई निर्देशन दिए ।
एक निर्वाचनको परिणामबाट निराश हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै ओलीले भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको उदाहरणसमेत प्रस्तुत गरे ।‘हामी एउटा मोर्चामा हारेका मात्र हौँ । सत्य हाम्रै पक्षमा छ, त्यसैले आत्मविश्वासका साथ अघि बढ्नुपर्छ,’ उनले भने ।
पार्टीविरुद्ध भ्रम फैलाउने प्रयास भइरहेको भन्दै ओलीले सूचना प्रविधिमार्फत हुने राजनीतिक प्रचारमा एमालेले प्रभावकारी उपस्थिति जनाउनुपर्ने बताए । पार्टीका काम र उपलब्धि जनतासम्म सही ढङ्गले पुर्याउन नेता–कार्यकर्ताले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।
उनले कार्यकर्तालाई आ–आफ्नो कार्यक्षेत्रमा सक्रिय भएर संगठन निर्माण, जनसम्बन्ध विस्तार र पार्टी अनुशासनमा ध्यान दिनसमेत निर्देशन दिए।

