Harsamaya
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ९० हजार, २४ ढोका खुला
कोसी ब्यारेज ।

इनरुवा - पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको लगातार वर्षाका कारणले कोशी नदीमा कोसी ब्यारेज भएर बग्ने पानीको बहावमा वृद्धि भएको छ । 

शुक्रबार बिहान ९ः१५ बजे गरिएको मापन अनुसार कोसी ब्यारेज भएर बग्ने पानीको बहाव १ लाख ९० हजार ६८० क्युसेक प्रतिसेकेन्ड रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सूचना अधिकारी होम ओलीले जानकारी दिए । 

पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका मूल ५२ वटा र नहरको ४ वटा गरेर कुल ५६ वटा ढोका मध्ये २४ वटा ढोका खुल्ला गरिएको उनले जानकारी दिए । 

पानीको बहावबढेसंगै कोसी ब्यारेजमा खतराको सङकेत स्वरूप रातो बत्ती बालिएको छ भने रातो झन्डा समेत फहराइएको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । 

नदीमा पानीको बहाव अझै बढ्न सक्ने अनुमान सहित जलस्तरको अवस्था निरन्तर अनुगमन भइरहेको कन्ट्रोल रुमले जनाएको छ । 

नदीको बहाव बढेसँगै कोशी आसपासका तटीय क्षेत्र तथा जोखिमयुक्त बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सुनसरीले आग्रह गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जानकारी दिए । 

नेपाल मौसम विज्ञान विभागद्वारा जारी विशेष मौसमी बुलेटिनअनुसार आगामी असोज ११ गते आइतबारसम्म कोशी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  १०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update