मनाङ - हिमाली जिल्ला मनाङमा स्थानीय गाउँले ,युवाहरूको पहलमा ‘मनाङ क्यानाइन केयर’ स्थापना गरी छाडा अवस्थामा रहेका ४० वटा कुकुरलाई आश्रय दिइएको छ । दुई जना कर्मचारी राखेर युवाहरू र स्थानीयवासीको सहयोगमा कुकुरलाई खाना खुवाउने तथा संरक्षण गर्ने काम भइरहेको छ ।
मनाङका युवा तथा होटेल व्यवसायी कुमार गुरुङका अनुसार हाल कुकुरलाई आश्रय दिएर खाना खुवाउने काम भइरहेको छ । हिउँदको चिसो मौसममा कुकुरलाई सुरक्षित राख्न व्यवस्थित सेल्टर निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनले बताए। यसका लागि आवश्यक गृहकार्य तथा सहयोग जुटाउन पहल भइरहेको उनको भनाइ छ ।
इच्छुक व्यक्ति तथा संस्थासँग सहकार्य गरेर कुकुरको संरक्षण र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तयारी रहेको गुरुङले बताए ।
हाल स्थानीयवासी र युवाहरूले व्यक्तिगत रूपमा तथा गाउँलेले सहयोग गर्दै कुकुरलाई खाना खुवाइरहेका छन् ।
पर्यटकसँगै आउने कुकुरले पशुचौपायामा क्षति
अन्नपूर्ण पदमार्गमा लमजुङ हुँदै आउने पर्यटकसँगै कुकुरहरू पनि मनाङ पुग्ने गरेका छन्। पर्यटक मनाङमा आराम गर्न वा बास बस्न रोकिँदा उनीहरूलाई पछ्याउँदै आएका कुकुर अलमल्ल पर्ने गरेको स्थानीय सोनाम गुरुङले बताए ।
‘पर्यटकहरू मनाङमा आराम गर्न बस्दा उनीहरूलाई पछ्याउँदै आएका कुकुर अलमल्ल पर्छन् । त्यसपछि यतै बस्ने गरेका छन्,’ उनले भने ।
ती कुकुरले घोडाका बच्चा खाने तथा गाईका बाछाबाछी मार्ने गरेका कारण कृषकले दुःख पाउने गरेको गुरुङले बताए ।
यस्तै समस्या तल्लो मुस्ताङमा पनि बढ्दै गएको छ। मनाङबाट पनि धेरै मात्रमा कुकुर थोरङपास गरेर मुक्तिनाथ, जोमसोम, कागबेनी क्षेत्र वरपरका जंगल, गाउवरपर बस्ने गर्छन् । छाडा कुकुरको आक्रमणबाट घरपालुवा पशुचौपाया तथा वन्यजन्तु प्रभावित हुँदै आएका छन् ।
मुस्ताङमा स्थानीय तह र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले वर्षैपिच्छे कुकुरको बन्ध्याकरण गर्दै आए पनि जंगल तथा बस्ती आसपास छाडा कुकुरको संख्या बढ्दै गएको बताइएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिका–३ र ५ मा कुकुरले कस्तुरी मृगसमेत मारेको घटना भएको स्थानीयले बताएका छन् । कुकुरको आक्रमणबाट बाख्रा, भेडा तथा गाईलगायत घरपालुवा जनावर पनि मारिने गरेको उनीहरूको भनाइ छ ।
बालबालिकाको सुरक्षामा समेत चिन्ता
छाडा कुकुरको बढ्दो समस्याले स्थानीय बासिन्दा तथा बालबालिकाको सुरक्षामा समेत चिन्ता थपिएको छ । ‘आजभोलि बालबालिकालाई बाटोमा हिँड्न पठाउन पनि डर लाग्ने अवस्था छ,’ एक स्थानीयले भने ।
छाडा कुकुरको व्यवस्थापन, वन्यजन्तु तथा घरपालुवा पशुको संरक्षण र स्थानीयको सुरक्षालाई ध्यानमा राख्दै मनाङ क्यानाइन केयरले थालेको पहललाई व्यवस्थित र दीर्घकालीन बनाउन स्थानीय तह, संरक्षण निकाय तथा सरोकारवाला संस्थाको सहयोग आवश्यक देखिएको छ ।

