न्यूयोर्क - प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि स्थानीय समयअनुसार साँझ ६ः३० बजे राष्ट्रसंघ मुख्यालयमा महासचिव गुटेरेससँग भेटवार्ता गरेका हुन्। यो समय नेपालीअनुसार शुक्रबार बिहान ४ः१५ बजे हो।
भेटमा महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु परिवर्तनका विषयमा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताएका थिए। उनले नेपाली युवा प्रतिनिधिमण्डलको समेत प्रशंसा गरे।
गुटेरेसले आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे।
प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उनको सफल कार्यकालका लागि बधाई दिए। उनले भोटेकोशी विपद्बाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताए।
भेटमा नदी किनारका बासिन्दाको पुनर्वास तथा हरित पुनर्निर्माणका विषयमा छलफल भएको थियो। यस्तै, अतिकम विकसित राष्ट्र (एलडीसी) को सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थप गर्न राष्ट्रसंघको समर्थन जुटाउने विषयमा पनि कुराकानी भएको थियो।

