सिन्धुपाल्चोक - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति पदमा पासाङ दोङले उम्मेदवारी घोषणा गरेका छन्।
पार्टीमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै आएका दोङले पार्टीका नेता तथा कार्यकर्ताले आफूलाई क्षेत्रीय सभापतिका लागि उपयुक्त हुने सुझाव दिएपछि आफू उम्मेदवारीका लागि तयार भएको बताएका छन्।
‘म पार्टीमा निरन्तर सक्रिय हुँदै आएको छु। सबैले क्षेत्रीय सभापतिका लागि तपाईं फिट हुनुहुन्छ, अघि बढ्नुपर्छ भनेपछि म त्यसका लागि तयार भएको हुँ,’ दोङले भने।
दोङ कांग्रेसको ११औँ र १२औँ जिल्ला अधिवेशनअन्तर्गत महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिका रूपमा जिम्मेवारी निर्वाह गरिसकेका छन्। १३औँ जिल्ला अधिवेशनमा उनी जिल्ला कोषाध्यक्ष पदमा निर्वाचित भएका थिए।
लामो समय पार्टी राजनीतिमा सक्रिय रहे पनि आफू अहिलेसम्म कुनै लाभको पदमा नबसेको दोङले बताए। पार्टीमा निरन्तर काम गर्दै आए पनि व्यक्तिगत लाभभन्दा संगठन र पार्टीलाई प्राथमिकता दिएको उनको भनाइ छ।
आफ्नो राजनीतिक यात्रामा स्वच्छ छवि र इमानदारीलाई मुख्य आधार बनाएको बताउँदै दोङले क्षेत्र नम्बर २ मा कांग्रेसको संगठनलाई थप मजबुत र सशक्त बनाउन आफू सक्रिय रहने बताए।
‘मसँग लामो समय पार्टीमा काम गरेको अनुभव छ। स्वच्छ छवि र इमानदारीका साथ संगठनलाई बलियो बनाउन काम गर्नेछु,’ उनले भने।
दोङले पार्टीभित्र उठाइने नारालाई व्यवहारमा समेत कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्। नेतृत्वमा पुगेपछि प्रतिबद्धता र नारामा मात्रै सीमित नभई त्यसलाई व्यवहारमै लागू गर्ने उनको भनाइ छ।
‘नारामा मात्रै होइन, व्यवहारमा पनि लागू गर्नुपर्छ। जे कुरा बोलिन्छ, त्यसलाई व्यवहारमा उतारेर देखाउनुपर्छ,’ दोङले भने। क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिका लागि दोङसहित अन्य नेताहरूले समेत उम्मेदवारी घोषणा गरिरहेका छन् ।
असोज १२ गते हुने क्षेत्रीय अधिवेशनले आगामी कार्यकालका लागि क्षेत्रीय नेतृत्व चयन गर्नेछ।

